
परासी । पश्चिम नवलपरासीको परासीमा गोली प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सरावल गाउँपालिका–४ मंगलापुरका २८ वर्षिय हंसराम यादव हुन् ।
उनले जिल्ला अदालतबाट करिब ५० मिटर पूर्वमा पर्ने व्यस्त सडकमा सोमबार दिउँसो आफ्नै ३४ वर्षिय काकी रोशनी यादवलाई गोली प्रहार गरेका थिए ।
हंसरामका बाबु र काकीबीच अदालतमा अंश मुद्दा चलेको थियो । काकाको मृत्युपछि निसन्तान रहेकी काकीलाई मारेपछि सबै अंश आफ्नै नाममा बनाउने मनशायका साथ हंसरामले काकीमाथि गोली चलाएका थिए ।
अंश मुद्दाको मिलापत्र गराउन अदालत जानेक्रममा उनले काकीमाथि २ राउण्ड गोली प्रहार गरेका थिए । तर गोली लाग्नबाट उनी बचेकी थिइन् ।
गोली प्रहारपछि भागेका हंसरामलाई मंगलबार दिउँसो प्रहरीले सुनवल नगरपालिका–९ को वनकट्टीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिनुभयो ।
घरमा लुकिरहेको अवस्थामा पेस्तोलसहित उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका हंसराममाथि हातहतियार र ज्यान मार्ने उद्योगमा मुद्दा चलाइने एसपी कँडेलले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्