
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कोभिडविरुद्धको लडाईमा नेपालले छिटो सफलता हासिल गरेको दाबी गर्नुभएको छ ।
अध्यक्ष ओलीले कोभिड संकटका बेला आफू नेतृत्वको सरकारले जनताको जीवन रक्षालाई पहिलो भन्ने नारा दिएर त्यसविरुद्धको लडाईमा धेरै मुलुकहरुले भन्दा धेरै छिटो सफलता हात परेको बताउनुभएको हो ।
पुष्प वरुवाल स्मृति फाउण्डेशनले मंगलबार भक्तपुरको बालकोटस्थित आफ्नै निवासमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले अन्य देशले आर्थिक गतिविधिलाई पहिलो प्राथमिकता दिएपनि आफू नेतृत्वको तत्कालीन सरकारले भने जनताको जीवन सुरक्षालाई पहिलो प्राथमिकता दिएर कोभिडको रोकथाम र नियन्त्रणसहित स्वास्थ्य क्षेत्रमा नै तीव्र प्रगति गर्न सफल भएको बताउनुभयो ।
अध्यक्ष ओलीले तत्कालीन समयमा आफ्नो जीवनको सुरक्षाको प्रवाह नगरी कोभिड संक्रमितहरुको उपचारमा केन्द्रित भएको भन्दै नेपालका चिकित्सकसहितका स्वास्थ्यकर्मीहरुको पनि प्रशंशा गर्नुभयो । विरामीहरुलाई अक्सिजनको व्यवस्था गर्न सरकारले विमानबाट सिलिन्डर समेत झिकाउनु परेको अध्यक्ष ओलीले स्मरण गराउनु भयो ।
अमेरिकामा कोभिड संक्रमणपछि निधन हुनु भएका बरुवालको सन्दर्भ स्मरण गराउँदै अध्यक्ष ओलीले त्यस अवधिमा नेपालले भने अस्पतालहरुको विस्तारमा समेत उल्लेख्य प्रगति गरेको बताउनुभयो । उहाँले स्वर्गीय बरुवालमा देश र जनताको पक्षमा केही गरौं भन्ने भावना रहेको पनि उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्