११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


भारतमा कृषि कामका लागि लकडाउन खुकुलो, उच्च जोखिम रहेका स्थानमा प्रतिबन्ध कायमै


0
Shares

एजेन्सी, बैशाख ८ । भारतमा जारी लकडाउनमा कृषकलाई केही खुकुलो पार्नेखाले व्यवस्था गरिएको छ ।

कोरोनाभाइरस फैलन नदिनका लागि लगाइएको देशव्यापी लकडाउन अन्तर्गतका केही प्रतिबन्ध खुकुलो पार्दै भारत सरकारले गरेको नयाँ व्यवस्थामा श्रमशक्तिको आधाभन्दा बढी आश्रित कृषि क्षेत्रलाई मद्दत पुग्ने खालको भएको समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।

नयाँ कदममा कृषि व्यापार मुख्यगरी खेतीपाती, माछापालन र बगान केन्द्रित छ । किसानलाई बाली काट्न छुट दिइनेछ भने दैनिक ज्यालादारी र यस क्षेत्रमा कार्यरत अरुले आम्दानी गरिरहन पाउनेछन् ।

यससँग सम्बन्धित उद्योगहरूमा आपूर्ति प्रणाली कायम राख्न मालवाहक ट्रकहरूलाई एकार्का प्रदेशमा पुगि गाउँमा उत्पादित सामग्रीलाई शहरमा लैजान अनुमति दिइनेछ ।

ग्रामीण क्षेत्रमा सडक र खानेपानी निर्माण खुला गरिनेछ तर त्यसमा दूरी कायम गर्नेसम्बन्धी कडा नियम भने लागु गर्नुपर्ने जनाइएको छ । यसले कृषि रोजगारीमा आश्रित लाखौंको राजेगारी निरन्तर राख्न टेवा पुग्ने छ ।

यद्यपि, कोरोनाभाइरस संक्रमणको केन्द्रबिन्दु मानिएका भारतका मुख्य शहरमा भने कुनै प्रतिबन्ध हटाइएका छैनन् । घरेलु तथा अन्तर्राष्ट्रिय उडान र अन्तरप्रादेशिक यात्रामा पनि रोकावट कायमै छ ।

अब सरकारी कार्यालय, बैंक, एटीएम, अस्पताल, क्लिनिक, औषधि बिक्री केन्द्रहरू पनि खुला हुनेछन् । सिकर्मी र डकर्मीजस्ता पेशाकर्मीले पनि आफ्ना काममा निरन्तरता दिन सक्नेछन् ।

तर सबै व्यवसाय र सेवामूलक क्षेत्रहरूले सामाजिक दूरी कायम गर्ने मापदण्ड भने पालना गर्नैपर्ने जनाइएको बिबिसीले जनाएको छ ।

केन्द्र सरकारले यस्तो निर्णय गरेपनि संक्रमण उच्च रहेका दिल्ली, उत्तर प्रदेश, आन्ध्र प्रदेश, तेलङ्गना र कर्नाटकामा प्रतिबन्ध कायमै रहने जनाइएको छ ।

भाइरस नियन्त्रणमा सफलता पाएको भनिएको दक्षिणी राज्य केरलामा भने विस्तारै खुकुलो बनाउँदै लगिने उल्लेख छ । जसमा निजी गाडीहरूलाई गुड्न दिने र सामाजिक दूरी कायम गर्दै रेस्टुराँहरूमा खान दिने बताइएको छ । भारतमा चैत १२ गतेदेखि जारी लकडाउन ३ मे सम्म जारी गरिएको छ ।