
काठमाडौं । ब्रिटिश–गोर्खा भूतपूर्व सैनिक संगठनले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संगठनले आफ्ना मागहरु सरकारले पूरा नगरेको भन्दै असार ३ गतेदेखि दोस्रो चरणको आन्दोलन घोषणा गरेको हो ।
ब्रिटिश–गोर्खा भुतपूर्व सैनिक संगठन सिंगापुर गोर्खाज विभागका प्रमुख पलबहादुर घर्तीले असार ३ गते काठमाडौंको रत्नपार्कस्थित शान्तिवाटीकामा शान्तिपूर्ण आन्दोलन गर्ने बताउनुभयो । उहाँले बेलायती दूतावास अगाडि एक घण्टा धर्ना गर्ने कार्यक्रम तय भएको बताउनुभयो ।
प्रमुख घर्तीले राजदुतवासमार्फत बेलायती प्रधानमन्त्रीलाई ब्रिटिश–गोर्खा भुतपूर्व सैनिकका १६ बुँदे मागसहित ध्यानाकर्षण पत्र पुनः बुझाउने बताउनुभयो । उहाँले बेलायत सरकारलाई नेपाल सरकारले १६ बुँदे मागपत्र पूरा गर्न पहल नगरी बेवास्ता गरे भूतपूर्व गोर्खा सैनिक मानव अधिकार तथा जातीय विभेद सम्बन्धी अन्तराष्ट्रिय संस्थाहरुको सहभागितामा देशव्यापी आन्दोलन गर्ने चेतावनी दिनुभयो ।
प्रमुख घर्तीले सिंगापुर प्रहरी सेवाबाट अवकाश पाप्त गोर्खाहरुमाथि बेलायत र सिंगापुर सरकारबाट ठूलो अन्याय र चर्को विभेद भइरहे पनि सरकारले सुनुवाइ नगरेको बताउनुभयो । उहाँले सरकारले कुनै सन्धि, सम्झौता बिना अहिलेसम्म पनि बेलायतले नेपालीलाई सिंगापुरको लागि भर्ती गरी पठाइरहेको भन्दै बेलायत, नेपाल र सिंगापुरमध्ये यसमा को जिम्मेवार छ भन्ने अन्यौल रहेको समेत बताउनुभयो ।
प्रमुख घर्तीले नेपाल सरकारले मुख्यतया सिंगापुर प्रहरीबाट अवकाश प्राप्त भूपु सैनिकलाई सिंगापुरका सैनिकसरह तलव, भत्ता, पेन्सन र अन्य सेवा सुविधाहरु सम्मान गराउन पहल गर्न माग गर्नुभयो । एउटै संस्थामा एकै प्रकारका काम गर्ने दुई देशका नागरिकहरुको तलव, भत्ता, पेन्सन र अन्य सेवा सुविधाबीच यस्तो अन्तर हुनु दुःखद पक्ष भएको उहाँको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्