
काठमाडौं । नेकपा(एकीकृत समाजवादी)को तर्फबाट शहरी विकासमन्त्रीमा सिफारिस हुनुभएका सांसद मेटमणि चौधरीले बिहीबारसम्ममा मन्त्री पदको सपथ ग्रहण गरिसक्ने बताउनुभएको छ ।
बुधबार प्रतिनिधि सभाको बैठकका लागि नयाँबानेश्वरस्थित संसद भवनमा पुग्नुभएका सांसद चौधरीले सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ मन्त्री पदको सपथ ग्रहण बिहीबारसम्ममा गरिसक्ने बताउनुभएको हो । उहाँले बुधबारनै सपथ ग्रहण हुनसक्ने सम्भावना रहेको पनि बताउनुभयो ।
उहाँले जनता समाजवादी पार्टीले पार्टीको आन्तरिक समस्या सम्बोधन गर्नका लागि केही दिन समय मागेका कारण एकीकृत समाजवादीबाट मन्त्रीमा सिफारिस भएकाहरुको सपथग्रहण रोकिएको बताउनुभयो । सांसद चौधरीले पार्टीले गरेको निर्णय कार्यान्वयन हुने बताउनुभयो ।
उहाँले माओवादी केन्द्र र नेपाली कांग्रेसलाई पनि मन्त्री हेरफेर गर्ने दबाब रहेको भन्दै सबै पार्टीले एकैपटक सपथ गराउनका लागि सपथ ग्रहण पछि सार्न पार्टी अध्यक्ष माधवकुमार नेपाल पनि सहमत हुनुभएको बताउनुभयो ।
उहाँले मन्त्रिपरिषद् हेरफेर गर्ने नेकपा(एकीकृत समाजवादी)को निर्णयलाई अपरिपक्व भन्न नमिल्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्