
म्याग्दी । जिल्लाका ग्रामीण भेगका पाखा र जंगलहरूमा ऐंसेलु, काफल, चुत्रो, जानमान्द्रो, मच्छ्यान्नो लगायतका जंगली फलफूलहरू खाने मान्छे नहुँदा जंगलमै कुहिएर गएको छ ।
गाउँघर युवा विहीन भएका र सहर बजारबाट मानिसहरू गाउँ नउक्लिँदा पौष्टिक तथा स्वादिष्ट आग्र्यानिक फलफूल जंगलमै कुहिएर खेर गएको छ ।
पछिल्ला दुई वर्ष बन्दाबन्दीका कारण गाउँ पुगेका युवाहरू जंगली फलफूलको स्वादमा रमाए पनि यस वर्ष भने फलफूल चराको आहारा बनेको छ ।
गत दुई वर्ष विदेश र शहरबाट आएका युवाहरूको गाउँको बसाइले गाउँबस्तीमा चहलपहल बढाएको थियो । उनीहरू जंगलमा गएर पाकेका जंगली फलफूलहरु खाएर समय बिताउने गर्थे ।
‘यस वर्ष जंगलमा तीजु पाकेर खेर गए, अहिले चुत्रो र ऐसेलु पाकेको छ, तर खाने मान्छे नहुँदा ती फलफूलहरू त्यत्तिकै खेर गइरहेका छन्’ गौश्वाराका चन्द्रकान्त रिजालले भन्नुभयो, ‘पछिल्लो समय गाउँका बस्ती सुनसान छन् ।’
जलवायु परिवर्तनको असर
सामान्यतया चैत–वैशाखमा फुल्ने लालीगुराँस यस वर्ष फागुनको दोस्रो सातामा नै ढकमक्क फुले । पुसदेखि नै लालीगुराँस कोपिला लागेको थियो भने फलफूल र कन्दमूल केही समयपछि पाक्न थालेका थिए ।
बेमौसममै लालीगुराँस फुल्नु र जंगली फलको मौसमी चक्र परिवर्तन हुनुमा तापमान अर्थात जलवायु परिवर्तनको प्रत्यक्ष असर परेकोे वातावरण संरक्षणकर्मी चन्द्रमणि सापकोटा बताउनुहुन्छ ।
वातावरणविद् सापकोटाका अनुसार स्वभाविक समय अगाडि नै गुराँस फुल्नु र बेमौसमी फल फल्नु स्वभाविक प्राकृतिक गुण नभएर वातावरणीय असर हो । विश्वमा बढ्दो तापक्रम वृद्धि र जलवायु परिवर्तनका कारण कतिपय देखिने र धेरै नदेखिने परिवर्तन भइरहेका छन् ।
अन्य फूलसमेत बेमौसममा फुल्न थालेको र अन्नबालीमासमेत यसको असर देखिएको मंगला गाउँपालिकाका हरिकृष्ण पौडेलले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले बेमौसममा नै काफल, तिजुलगायत जंगली फल पाकेको र अन्नबालीको फललाग्ने र खेती गर्ने समयमा समेत नजाँनिदो गरी परिवर्तन आएको छ ।’
वातावरण संरक्षणकर्मी सापकोटाका अनुसार स्वभाविक समय अगाडि नै फूल फुल्नु र बेमौसमी फल फल्नु स्वभाविक प्राकृतिक गुण नभएर वातावरणीय असर हो ।
जलवायु परिवर्तनका कारण हिमाल, वनस्पति, मानव स्वास्थ्य र महिलाको प्रजनन प्रक्रियामा समेत धेरै परिवर्तन देखिएको उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्