
काठमाडौं । काठमाडौं महानगरपालिकालाई हराभरा र सुन्दर बनाउने उद्देश्यले दशकौं अघि लगाइएका रुख अहिले धरापमा परिणत भएका छन् ।
ती रुखको आयु कति हो र तिनीहरूको अवस्था के छ भन्ने अध्ययन गर्ने फुर्सद कसैलाई छैन । हावाहुरी आएका बेला सडकपेटीमा हिँड्दा कतिबेला रुख ढलेर अनिष्ट हुने हो भन्ने त्रास बढ्दो छ ।
बाहिरबाट हेर्दा ठूला र आकर्षक देखिने रुखको उमेर पुगिसकेकाले भित्र–भित्रै खोक्रो भइसकेको छ । कतिपय रुख कुहिएर झारपात पलाएका छन् भने कति रुख हाँगा भाँचिएर अधकल्चो अवस्थामा छन् ।
सडकपेटीका कति रुख त ढल्ने क्षणको प्रतिक्षामा बसेको भान हुन्छ । यसले सडकपेटीमा हिँड्ने पैदलयात्री मात्र नभई गुड्दागुड्दैका सवारी, आवास क्षेत्र, विद्यालय र प्रहरी चौकीमा बज्रिने खतरा छ ।
जोखिम अवस्थाका वृद्ध रुख काट्ने, छाँटने र उपयुक्त विरुवा लाउने तर्फ सरकारको ध्यान जानुपर्ने स्थानीयको बताउँछन् ।
काठमाडौंका अधिकांश ठाउँमा लहरे पिपलका विरुवा लगाइएका छन् । थोरै समयमा हलक्क हुर्किने प्रकृतिका यी विरुवा जति अग्लो भयो, उसको जरा उति कमसल बन्दै जानेतर्फ विज्ञहरूले सचेत गराउँदै आएका छन् ।
दुर्घटना निम्तिनुअघि नै त्यसको निदान खोज्न काठमाडौंवासीले सल्लाह दिएका छन् ।
धराप शैलीमा रहेका रुख ढल्दा वर्षेनी मानिसको ज्यान गएका समाचार आइरहेका छन् । सौन्दर्यका खातिर रोपिएका रुखविरुवा वियोगान्त घटनाको जड बन्ने अवस्था नआओस् भन्ने तर्फ सरोकारवाला निकायको ध्यान जान जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्