२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


बर्दियामा तीन दिनदेखि अवरुद्ध राजमार्ग सुचारु


91
Shares

बर्दिया । तीन दिनदेखि अवरुद्ध बर्दियाको राजापुर सडकखण्ड बुधबारबाट सुचारु भएको छ ।

सोमबार बिहान मधुवन नगरपालिका –२ सोनफाँटाकी ४१ वर्षिया अस्मिता थारु बाघको आक्रमणबाट घाइते भएपछि स्थानीयले हुलाकी मार्ग अवरुद्ध गरेका थिए ।

सडक खुलाउने क्रममा प्रदर्शनकारी र प्रहरीबीचको झडपमा प्रहरीको गोलीलागि मधुवन–२ कै १८ बर्षीय नविना चौधरीको ज्यान गएको थियो ।

प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको नेतृत्वमा सरोकारवाला र पीडित पक्षबीचको बैठकले मृतकका आफन्तलाई राहतस्वरुप २० लाख रुपैयाँ दिन पहल गर्ने, सालिक निर्माण र सहिद घोषणा गर्न पहल गर्ने लगाएतका सहमतिपछि बाटो खोलिएको हो ।

बाघको आक्रमणबाट घाइते अश्मिता थारु र अन्य घाइतेको उपचारको ब्यबस्था गर्ने, बाघको आक्रमण रोक्न व्यवस्थित तारबार गर्ने सहमतिसमेत भएको छ ।