
बुटवल । स्थानीय तहको चुनावपछि गठित बुटवल उपमहानगरपालिका कार्यपालिकाको पहिलो बैठकले बुटवलमा बिपी कोइराला र पुष्पलाल श्रेष्ठको शालिकसहित संयुक्त पार्क बनाउने निर्णय गरेको छ ।
बैठकमा नगर प्रमुख खेलराज पाण्डेयले बुटवल–११ को वडा कार्यालयको उत्तरतर्फ सार्वजनिक जग्गामा प्रजातान्त्रिक आन्दोलनका नेतृत्वकर्ता बिपी र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको एकैथलोमा पूर्णकदको शालिकसहित पार्क बनाउने प्रस्ताव राख्नु भएको थियो । पाण्डेयको प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । पार्क बुटवल उपमहानगरपालिकाको वजेटबाट बन्ने छ ।
कार्यपालिकाको बैठकले विभिन्न विषयगत समितिका संयोजक तथा राजस्व परामर्श समिति सदस्यहरु चयन गरेको छ । जसमा सार्वजनिक सेवा तथा क्षमता विकास समिति संयोजकमा वडा नं ७ का अध्यक्ष पदम गाहा, आर्थिक विकास समिति संयोजकमा वडा नंं १२ का अध्यक्ष डिल्लिराज शर्मा, सामाजिक विकास समिति संयोजका वडा नं ९ का अध्यक्ष प्रदीप श्रेष्ठ, भौतिक पूर्वाधार विकास समिति संयोजकमा वडा नं १३ का अध्यक्ष नारायण पुन र वातावरण तथा विपद समिति संयोजकमा वडा नं ११ का अध्यक्ष रामचन्द्र क्षेत्री चयन हुनु भएका छन् ।
यस्तै, राजस्व परामर्श समिति सदस्यहरुमा वडा नंं ४ का अध्यक्ष नरिश्वर शर्मा र बसन्ती विक तथा जाँचपास तथा फरफारक समिति संयोजकमा वडा नंं ५ का अध्यक्ष हरि श्रेष्ठ चयन हुनु भएको छ ।
बैठकमा वडा अध्यक्षहरुले आफ्नो वडाका समस्या जानकारी गराएका थिए । जसमा ज्योतिनगर पहिरो, चौराहा–गोलपार्क सडक, फोहोर व्यवस्थापन लगायतका समस्या छिटो समाधान गर्नुपर्ने आवाज उठेको थियो ।
यस्तै, बैठकले नगर सभा असार ८ गते गर्ने निर्णय गरेको छ । साथै कार्यपालिकाको बैठकले उपमहानगरभित्र रहेका करिव १६ हजार भुमिहीन सुकुम्बासीहरुलाई बसोबासको निस्सा दिने निर्णय गरेको छ ।
नगर प्रमुख पाण्डेयले उपमहानगरको नवनिर्मित प्रशासनिक भवनको सरसफाई पुरानो प्रविधिबाट असम्भव देखिएको भन्दै भवन सरसफाईका लागि टेण्डर प्रक्रियाबाट कार्य अगाडि बढाउने निर्णय भएको पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्