२५ चैत्र २०८१, सोमबार | Tue Apr 8 2025


बिजुलीको तार तानेर त्यत्तिकै छाड्दा निस्दी बासिन्दा उज्यालोबाट बञ्चित

'जनताहरू बिजुली बाल्ने प्रतिक्षामा'

676
Shares

पाल्पा । पाल्पाको निस्दी गाउँपालिकाका बासिन्दाले अहिलेसम्म बिजुली बाल्न पाएका छैनन् । बिजुलीको पोल गाडेको बर्षौं भईसक्दा पनि बिजुली वितरणको काम सम्पन्न हुन सकेको छैन ।

देशमा व्यवस्था परिवर्तन भयो, गणतन्त्र आयो । धेरै सरकार फेरिए । घरघरमा सिंहदरबार भनेर सुनेका पाल्पा निस्दी गाउँपालिकाका बासिन्दाले न्युनतम सुविधा पनि उपभोग गर्न पाएका छैनन् । देशमा तीनै तहका सरकार छन् तर, यहाँका जनताले अहिलेसम्म बिजुली बाल्न पाएका छैनन् । त्यसै त विकट, गरिबी र कष्टकर जिवन छँदैछ । त्यसमाथि अहिलेसम्म पनि निस्दीबासी टुकीको भरमा जिवनयापन गर्न बाध्य छन् । पोल गाडिएको छ र तार पनि तानिएको छ तर बिजुली कहिले आउँछ र घर झलमल हुन्छ भन्ने निस्दीबासीलाई थाहा छैन ।

वर्षौदेखि राज्यबाट पाउनु पर्ने सुविधाबाट ठगिएका निस्दीबासी न्युनतम सुविधाबाट पनि वञ्चित छन् । सरकारी तहबाट बिजुली बत्ती देख्न नपाएका उनीहरू दातृ निकायले दिएको सानो सोलारको धिपधिपे प्रकाशमा रात काटिरहेका छन् । बिजुलीको अभावमा पानीसमेत खान नपाउने स्थानीय घाम नलागेको दिन सञ्चार सम्पर्कबाट समेत वञ्चित हुने गरेका छन् । गतवर्ष पोल गाडिएसँगै बिजुली बाल्न पाइने भयो भनेर हौसिएका उनीहरू अहिले निराश छन् । गाउँपालिकामा पटकपटक धाउँदा आश्वासन मात्र पाउने गरेको उनीहरू बताउँछन् ।

स्थानीय निस्दीका वडा नम्बर ३ देखि ७ का जनताहरू बिजुली बाल्ने प्रतिक्षामा छन् । बिजुलीको सामग्री ठेक्का सम्झौता गरेको ठेकेदार कम्पनीले समयमा काम नगरेको र ट्रान्सफर्मर समयमा उपलब्ध नगराउँदा काम रोकिएको गाउँपालिकाले जनाएको छ ।

निस्दीबासी घाम लागे सोलारको सानो बत्ती बाल्ने गर्दछन् भने घाम नलागेको दिन त्यो पनि बल्दैन । बत्तीकै कारण यहाँका बालबालिकाले पढ्न समेत नपाउने अवस्था छ । रोग, भोक र कष्टकर जिवनसँग जुधिरहेका निस्दीबासी बिजुलीबाट वञ्चित हुनु दुःखद छ ।