१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


औसतभन्दा धेरै वर्षा हुने भन्दै मौसमविदद्वारा सरकारको ध्यानाकर्षण


1.261k
Shares

काठमाडौं । मौसमविद्हरूले यसवर्ष औसतभन्दा धेरै वर्षा हुने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

जल तथा मौसम विज्ञान विभागले यसअघि नै यस वर्ष सरदर भन्दा बढी वर्षा हुनसक्ने पूर्वानुमान गरेको छ । यसवर्षको मनसुनजन्य विपद्बाट देशभर १७ लाख मानिस प्रभावित हुनसक्ने विज्ञहरुले बताइरहेका छन् ।

यसवर्ष नेपालमा १ हप्ताअघि नै पूर्वी भेगबाट मनसुन भित्रिएको छ । जसकारण मौसम विज्ञ, सांसद, सरोकारवाला निकायले सरकारको यस बारेमा पूर्व तयारीका लागि ध्यानाकर्षण गराइरहेका छन् ।

यसवर्ष प्रदेश १ को हिमाली भूभाग बाहेकका स्थान र काठमाडौंबाट पश्चिमका क्षेत्रमा अत्याधिक वर्षा हुने मौसमविद्हरुको आँकलन छ ।

त्यस्तै प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूले यस वर्षको मनसुनमा विपद् व्यवस्थापन र पूर्वतयारीको काममा अहिलेदेखि नै ध्यान पुर्‍याउन सरकारलाई आग्रह गरेका छन् ।

नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले प्राकृतिक प्रकोपबाट निम्तिने विपद्हरूको व्यवस्थापनका लागि सरकारले अहिलेदेखि नै ध्यान पुर्‍याउनुपर्ने बताउनुभयो । उहाँले बाढी प्रभावित क्षेत्रमा भएको बसोवासलाई अन्यत्रै सारेर बेलैमा व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।

सचेतक भुसालले विगतका घटनाहरूबाट पाठ सिकेर सरकारले विपद् व्यवस्थापनका लागि बजेट छुट्याउनुपर्ने बताउनुभयो । सरकारले प्रभावकारी योजना र कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

नेकपा(माओवादी केन्द्र)का सांसद वर्षमान पुनले सम्भावित विपद्को सामना गर्न सरकारी संयन्त्र तयार रहनुपर्ने बताउनुभयो । उहाँले मनसुनबाट हुने क्षतिलाई अहिले नै अनुमान गर्न नसकिने भन्दै कमभन्दा कम क्षति हुनेगरी पूर्वतयारीमा जुट्नुपर्ने बताउनुभयो ।

नेकपा (एमाले) का सांसद डा. सूर्य पाठकले गाउँमा सडक बनाउन अत्याधिक रूपमा डोजरको प्रयोग गरेका कारण पहिरोको क्षति बढेको बताउनुभयो । उहाँले विकास निर्माणको काममा जथाभावी डोजर प्रयोग बन्द गर्नुपर्ने बताउनुभयो ।

सांसद पाठकले विपद्को सम्बन्धमा सरकारले सचेतना फैलाउनुपर्ने र पर्याप्त बजेट विनियोजन गरेर राख्नुपर्ने बताउनुभयो । सरकारले कुनै पूर्वतयारी नगरेको भन्दै उहाँले विपद् व्यवस्थापनमा स्थानीय तहले विशेष रूपमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

सांसद पाठकले स्थानीय तहले पनि पर्याप्त बजेट विपत व्यवस्थापन र पूर्वतयारीका लागि छुट्याउनुपर्ने बताउनुभयो । साथै विपद् परेको अवस्थामा तत्काल उद्धार गर्नका लागि एउटा युनिट गठन गरिराख्न पनि उहाँले स्थानीय तहलाई आग्रह गर्नुभयो ।

त्यस्तै जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले यसवर्ष प्रदेश १ को हिमाली भूभाग र मधेस प्रदेशका केही भूभागमा बाहेक अन्य बाँकी भूभागमा सरदर भन्दा बढी वर्षा हुने भएकोले बेलैमा सजग हुनुपर्ने बताउनुभयो ।

उप्रेतीले विशेष गरी काठमाडौंबाट पश्चिमका क्षेत्रहरूमा बढी पानी पर्ने भएको भन्दै सरकारले त्यसमा पूर्वतयारी थाल्नुपर्ने बताउनुभयो । उहाँले हरेक जिल्लामा पूर्व सूचना प्रणालीको विकास गरेर र सुरक्षा निकायहरूलाई सजग गराएर राख्नुपर्ने अवस्थाको थालनी गर्न ढिलाइ गर्नुनहुने बताउनुभयो ।

विज्ञ उप्रेतीले ७५३ वटा नै स्थानीय सरकारमा स्थानीय आपतकालीन केन्द्रको व्यवस्थापन गर्ने कुरा ऐनमा भनिएको भन्दै त्यसले दिएको निर्देशनको आधारमा पूर्व तयारी थाल्नुपर्ने बताउनुभयो ।

बढी पानी पर्ने भनेको बढी पहिरो र बाढी जाने सम्भावनाको कुरा रहेकोले त्यसतर्फ सचेत रहनुपर्ने बताउनुभयो ।