२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


अमेरिकी सेनाका प्यासिफिक कमान्डिङ जर्नेल काठमाडौंमा


598
Shares

काठमाडौं । अमेरिकी सेनाका प्यासिफिक कमाण्ड कमान्डिङ वरिष्ठ जर्नेल चार्ल्स ए फ्लाएन चार दिने नेपाल भ्रमणमा आउनुभएको छ ।

अमेरिकी सेनाको विशेष विमानबाट दिल्ली हुँदै दिउँसो साढे १२ बजे चार्ल्स काठमाडौं आइपुग्नुभएको हो ।

नेपालबाट प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको तयारी चलिरहेको र प्रधान सेनापतिको भ्रमण तय भइसकेको अवस्थामा उहाँ नेपाल भ्रमणमा आउनुभएको हो ।

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा शान्ति सैनिकहरू तैनाथ रहेका मुलुक हुँदै अमेरिका भ्रमण जानुपूर्व अमेरिकी सेनाका वरिष्ठ जर्नेल फ्लाएनले २६ देखि २९ जेठसम्म नेपाल भ्रमण गर्ने तय भएको थियो ।

नेपाली सेनाका प्रवक्ता सहायकरथी नारायण सिलवालका अनुसार फ्लाएनको भ्रमण तय भए पनि प्रधानसेनापति शर्मासँग भेट गर्ने बाहेकको अन्य कार्यतालिका स्वीकृत भइसकेको छैन ।

मन्त्रिपरिषद्ले प्रधानसेनापति शर्मा संयुक्त राज्य अमेरिकाको औपचारिक निमन्त्रणामा १३ देखि १७ असारसम्म अमेरिकाको वासिङ्टन डीसी पुगेर फर्कने भ्रमण कार्यक्रम स्वीकृत गरिसकेको छ ।

त्यसअघि शर्माको ४ देखि १० असारसम्म संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकहरू तैनाथ रहेको लेबनान र सिरियास्थित शान्ति मिसनहरूको निरीक्षण भ्रमण गर्ने कार्यक्रम छ ।

भ्रमणको समयमा प्रधानसेनापति शर्मालगायतको टोलीले मिसनहरूको वस्तुस्थिति, अपरेसनल गतिविधि, फौज तैनाथीको अवस्थालगायतका पक्षका बारेमा जानकारी लिने र राष्ट्र तथा शान्ति मिसनका उच्च पदस्थ अधिकारीसँग भेटघाट गर्ने सेनाको भनाइ छ ।