२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


लुम्बिनीको सञ्चार र प्रहरी सेवा सञ्चालन विधेयक अघि बढ्यो


117
Shares

बुटवल । लुम्बिनी प्रदेश सरकारले लामो समय विवादमा रहेको सञ्चार विधि र सुरुवात गर्न नसकेको प्रहरी सेवा सञ्चालन विधेयकलाई अगाडि बढाएको छ । लामो समयको विवाद र पुन मस्यौदा भएपछि सञ्चार विधेयक अघि बढाइएको हो ।

बिहीबार बसेको प्रदेश सभा बैठकले प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र सञ्चारमाध्यमक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई विषयगत समितिमा पठाउने निर्णय गरेको हो ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले प्रस्तुत गरेको विधेयकमाथिको दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रदेशसभाबाट पारित हुँदै विषयगत समितिमा पठाइएको हो ।

विषयगत समितिले आवश्यक अनुसार विधेयकको परिमार्जन गर्नेछ । योसँगै अब मिडियालाई प्रदेशबाट नै अनुगमन गर्न बाटो खुलेको छ भने प्रदेश प्रहरी सञ्चालन र गठन गर्ने बाटो खुलेको छ ।

बिहीबारको बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक फखरुद्धिन खानले नीति कार्यक्रम प्रस्तुत गरेकोमा प्रदेश प्रमुख अमिक शेरचनलाई धन्यवाद ज्ञापनको प्रस्ताव सर्वसम्मत पारित भएको छ ।

बैठकको सुरुमा नै मुख्यमन्त्री कुल प्रसाद केसीले प्रदेश प्रमुख अमिक शेरचनले बुधबार संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को नीति कार्यक्रमको प्रति प्रदेशसभामा पेस गर्नुभएको थियो ।

प्रदेशसभाको अर्को बैठक शुक्रबार दिउँसो १२ बजे बस्नेछ । बैठकमा लुम्बिनी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।