
सोलुखुम्बु । जिल्लाको अति व्यस्त पर्यटकीय क्षेत्रमा रहेको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला विमानस्थल)मा पाँच दिनदेखि सबै हवाई उडान सेवा ठप्प भएको छ ।
पाँच दिनदेखि लगातार मौसममा आएको खराबीका कारण सबै उडान अवरुद्ध हुँदा पर्यटक तथा अन्य यात्रु अलपत्र परेका हुन् । मौसममा सुधार नभएपछि लगातार उडान हुन नसकेको हो ।
दैनिक जसो दर्जनौं उडान हुने खुम्बुक्षेत्रको एक मात्र विमानस्थल लुक्लामा सबै उडान अवरुद्ध भएपछि खुम्बु भ्रमण गरी लुक्लाबाट फर्कने तथा काठमाण्डौँबाट आउने दुवैतिरका यात्रु अलपत्र बनेका छन् ।
लुक्लामा मौसममा सुधार आउला र काठमाडौं जान पाइएला भनेर विमान कुरेका यात्रुहरू तनावमा छन् । लुक्लामा बाक्लो कुहिरो र वर्षाका कारण उडान प्रभावित भएको नेपाल नागरिक उडड्यन कार्यालय लुक्लाका प्रमुख द्वारिका अछामी नेपालीले जानकारी दिनुभयो ।
दस दिनयता मौसम प्रतिकुलताका कारण उडान प्रभावित बन्दै आएकोमा पाँच दिनदेखि पूर्ण रूपमा हवाइजहाज र हेलिकप्टरले समेत कुनै उडान हुन नसकेको उहाँले बताउनुभयो । पर्यटकीय सिजनको अन्त्यसँगै हिमाल आरोहण गरी फर्कने यात्रु समस्यामा रहेको उहाँको भनाइ छ ।
लुक्लामा तारा र समिट एयरले नियमित उडान भर्दै आएका छन् । तत्काल मौसममा सुधार हुने अवस्था नदेखिएपछि कतिपय यात्रुहरू पैदल नै सदरमुकाम सल्लेरी हुँदै सडक मार्गबाट गन्तव्यतर्फ लागेका छन् ।
लामो समय लाग्ने सल्लेरीसम्मको यात्रा समेत त्यति सहज नभएको यात्रुहरूको गुनासो छ । विमानस्थलमा भिजिविलिटी अत्यन्त न्यून रहेकाले हवाइजहाज तथा हेलिकप्टर उडान तथा अवतरण हुन नसकेको हो ।
विमानस्थल वरपरको भिजिबिलिटी ५० मिटर भन्दा कम रहेको छ । जसलाई उडान क्षेत्रमा नील मानिन्छ । उडानका लागि कम्तीमा पाँच किलोमिटर भिजिबिलिटी आवश्यक पर्छ ।
प्रतिक्रिया दिनुहोस्