२ बैशाख २०८२, मंगलबार | Wed Apr 16 2025


सुन्धाराको हिति बचाउन स्थानीय र संरक्षणकर्मी जागरुक


3.107k
Shares

काठमाडौं । इतिहासको नासोका रूपमा रहेको सुन्धाराको नामले परिचित लुँ हितिको अवस्था बेहाल भएपछि स्थानीय र संरक्षणकर्मी जागरुक देखिएका छन् ।

अरबौं खर्चेर पुनःनिर्माणको नाममा नयाँ धरहरा बनाइरहँदा सँगै रहेकोे लुँ हिति दुरावस्थामा पुगेको बारे बुधबार ईमेजखबरमा समाचार प्रकाशित भएपछि सुन्धारा निर्माण गरिरहेको निर्माण सेवा कम्पनीले हितिको सरसफाइमा सक्रिया देखाएको हो ।

कान्छो हितिको परिचय बनाएको सुनको मोलम्मा लगाइएको ऐतिहासिक लुँ हिति सुन्धारा खण्डहरमा परिणत भएको दृश्यले संरक्षणवादीहरू जागरुक बनेका हुन् । हितिको दुरावस्थापछि नागरिक स्तरमै यसको संरक्षणमा जागरुकता बढेको हो ।

मकर मुखाकृति भएको हिति नवनिर्मित धरहरासहित चारैतिरबाट भीमकाय कंक्रिट संरचनाले घेरिएर अस्तित्वहीन अवस्थामा पुगेको छ । झाडीले छोपेर धाराको संरचना पुरै हराउँदा समेत कसैले चासो दिएका छैनन् ।

हितिसँग सम्बन्धित ऐतिहासिक सामग्री छरपस्ट छन् । करिव दुई रोपनी चारआनाको संरचना मौलिक कलात्मक कलाकृतिसहित चार तहमा निर्माण गरिएको हिति क्षेत्रफल र संरचनाको आधारमा सर्वाधिक ठूलो हिति मानिन्छ ।

स्थानीय बासिन्दा गोविन्दलाल तण्डुकार बाल्यकालमा यही हितिमा नुहाउने, खानेपानी थाप्ने मात्र हैन, यही धाराको सेरोफेरोमा खेलेको स्मरण गर्नुहुन्छ । सरकारको मुख नताकी जनस्तरबाट सरसफाई गर्नुपर्ने बताउनुहुन्छ ।

‘नयाँ धरहरा बनाउने क्रममा संरक्षण गर्लान् कि भन्ने आश थियो, तर त्यो भएन,’ उहाँ भन्नुहुन्छ, ‘हितिबाट पहिलाजस्तै पानी आउने बनाउन लाग्नुपर्छ ।’

वडाध्यक्ष चिनीकाजी महर्जनले आफू विगतदेखि नै हिति संरक्षणमा जुटेको भन्दै यसको संरक्षणमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउनुहुन्छ । धरहरा निर्माणसँगै हितिको पनि संरक्षण गर्नुपर्नेमा आफूहरू जानकार रहेको उहाँको भनाइ छ ।

सुन्धारा क्षेत्रकै न्वारान गर्ने हिति आफैं अस्तित्वविहीन बन्दै जानु संस्कृतिको संग्रहालय मानिने काठमाडौंका लागि दुःखद खबर हो । धरहरा बनाएको स्वामित्व लिने होड शीर्ष नेताहरूमा चलिरहँदा सँगै रहेको अमूल्य सम्पदा जोगाउन कसलै ध्यान दिन सकेका छैनन् ।