११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


विश्वविद्यालयका उपप्राध्यापक बाबुराम यसरी बने गाईपालक


0
Shares

नारायणी लामिछाने, काठमाडौं

बिहान ३ बजे उठ्ने दैनिकी बनेको छ, बाबुराम कार्कीको । पेशाले उनी विश्वविद्यालयको उपप्राध्यापक हुन् । हप्ताको दुई दिन अझै पनि त्रिभुवन विश्वविद्यालय पुग्ने गरेका छन् । सुन्दरीजलको विपी चोकमा गोठ स्थापना गरेको ५ वर्ष पुग्न लागेको छ । ८ वर्ष हुँदैछ व्यवसायीक रुपमा गाईपाल्न थालेको । यस पेशाले उनलाई सन्तुष्ट मात्रै बनाएको छैन, खुशी पनि थपेको छ । २८ जनालाई रोजगारी दिएका बाबुराम बाबुबाजे जस्तै कृषि पेशालाई निरन्तरता दिन पाउँदा खुशी व्यक्त गर्छन् । त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तहलाई बृहत्त अर्थशास्त्र अध्यापन गराउने बाबुराम एक प्राध्यापक मात्रै होईनन् कृषिमा जागरण छर्ने र आशाको किरण छर्ने स्रोत बनेका छन् ।

व्यवसायीका रुपमा उपप्राध्यापक बाबुराम

पहिला घरमा दुध खाने रहरले भक्तपुरमा गाई पालेका बाबुरामसँग पहिला तीन वटा गाई थिए । गाईको दुध आफुले खाएर बढी हुन थालेपनि छिमेकीकोमा पनि लैजान थाले । तर दुध अझै बढी उत्पादन भयो कृषिमा विस्तारै व्यवसायिकता भित्रिन थालेपछि पढे लेखेका मानिसले व्यवसायीक हुनुपर्छ भन्ने सोचेर गाईपालनमा लागेको कार्की बताउँछन् । गाई पाल्दा केहीलाई रोजगारी पनि दिन सकिने भएकाले गाईपालनलाई निरन्तरता दिने सोचेर यतै रमाउन थाले बाबुराम । गाईपालनमा निरन्तर लागी रहेका बाबुरामका गोठमा अहिले २ सय ७० भन्दा बढी गाई र बाच्छी छन् । विभिन्न घटना परिघटना आईपर्दा कहिल्यै रोकिएनन् बाबुरामका पाईला । जसले उनलाई एउटा उपप्राध्यापक मात्रै नभइ एक सफल पशुपालकका रुपमा स्थापित गरिदिएको छ । तीन वटा गाईबाट शुरु गरेका बाबुरामले तीन वर्षमै ४० वटा गाई पुर्‍याए । भक्तपुरमा गाईपालन गरिरहेका कार्कीलाई गाईको संख्या बढेपनि ठाउँको अभाव भएपछि २०७२ फागुनमा सुन्दरीजलकोे विपी चोकमा ८५ रोपनी जग्गा भाडामा लिई गोठ यतै सारे ।

तर यही एउटा दूर्भाग्यपूर्ण घटना हुन पुग्यो । आफ्नै पेशामा रमाईरहेका बाबुराममाथि बज्रपात नै भयो भन्दा हुन्छ  । २०७३ असार ३ गते सबै जना काम सकेर घरमै बसिरहेका थिए । बिहान ११ बजेतिर गोठमा ईलेक्ट्रिक सट भई आगो लाग्यो । गोठमा १ सय २२ गाई थिए । एक्कासी बलेको आगो सहन नसकी ति चिच्याउन लागे । यता कार्की परिवार आत्तिन थाल्यो । गोठमा रहेका सक्ने जती केही गाई फुकाईयो तर केहीले त्यही प्राण त्याग्न बाध्य भए । केही घाईतेलाई बाहिर ल्याईयो । र आगो निभाईयो । गोठमा भएका १ सय २२ गाई मध्ये ९७ ले प्राण गुमाए । यसले बाबुरामको मनमा आगो दन्कियो । करोडौं लगानी गरेर बनाएको गोठ, गाई अनि आशा सबै स्वाहा भएझै भयो । तर परिवारको सहयोग, बीमा तथा आत्मविश्वासले गर्दा आज उनी पुरानै अवस्थाभन्दा अझ अघि बढेका छन् ।

कर्तव्य र आत्मविश्वासले सिकाएको बाटो

त्यतिखेर उनले बैंकबाट १ करोड ६० लाख ऋण लिएका थिए । कार्कीले अब त्यो ऋण तिर्न, आफ्ना नियमित ग्राहकको आवश्यकता टार्नुपर्ने अर्काे आवाश्यकता छँदै थियो । तर गोठमा अब २५ वटा मात्रै गाई बाँकी थिए । दैनिक १५ सय लिटर दुध बजारमा पुर्‍याएका बाबुरामका लागि यो चुनौती बन्यो । संकटका बेला परिवारको सहयोग र आत्मविश्वासले अझै बलियो बनायो । अनि यही पेशालाई निरन्तरता दिईरहे र विश्वविद्यालयमा प्राध्यापन पनि । त्यसैका कारण आज बाबुराम एक सफल गाईपालकका रुपमा स्थपित भएका छन् । अहिले उनको गोठ पहिलाभन्दा विस्तारित भएको छ । २० वटाभन्दा बढी बाच्छा बाच्छी गोठमा छन् । २ सय १८ वटा गाई छन् भने ६५ वटाले दुध दिएका छैनन् । अहिले दुध सुन्दरीजलदेखि चाबहिल, मैतीदेवी, बानेश्वर लगायत काठमाडौंका विभिन्न स्थानमा लैजाने गरिएको छ ।

लकडाउनले समस्या सिर्जना

मुलुकमा कोरोनाको त्रास बढेसँगै गत चैत्र ११ गतेबाट लकडाउन सुरु भयो । लकडाउनका कारण मानिसको आवातजावत बन्द भयो, सवारी आवतजावत हुन सकेन । दैनिक २५ बोरा दाना उपभोग गर्ने पशुलाई ४ बोराले मात्रै थेग्नुपर्ने अवस्था भयो । यसबाट उत्पादनमा समेत ह्रास आयो । दैनिक १६ सय लिटर दुध बजारमा पु¥याइरहेका कार्कीको गोठमा अब १ हजार लिटर मात्रै दुध उत्पादन हुनथाल्यो । लकडाउनका कारण दाना आउने ठाउँबाट आउन सकेन । ४ सय रुपैयाँ तिर्दै आएको चोकर ६ रुपैयाँ पर्न थालेको छ । मकैमा प्रतिकेजी ८ रुपैँयाँसम्म बढेको छ । दैनिक डेढ लाखसम्मको दुध बिक्री हुने गरेकामा अहिले ९० हजारमा सीमित भएको छ । 

बाच्छा व्यवस्थापनामा सरकारको सहयोग चाहिन्छ

गाईपालन गरेपछि बाच्छा व्यवस्थापन गर्न भने गाह्रो हुने गरेको कार्कीले बताए । यसका लागि सरकारीस्तरबाटै पहल हुनुपर्ने उनले बताए । दुध छुटाएपछिका बाच्छा कहाँ र कसरी व्यवस्थापन गर्नेभन्ने समस्या रहेकाले व्यवस्थापन नीति ल्याउन उनले सरकारसँग आग्रह गरेका पनि छन् । बाच्छाबाट गाईले जती उत्पादन नहुने भएकाले किसानले बाच्छाका लागी खाना र दानापानीमा लगानी गर्नुमात्रै हुने भएकाले सरकारले केही उपाय खोजिदिन उनले आग्रह गरे । बाटोमा छोड्न पनि नमिल्ने हुँदा व्यवस्थापनामा चुनौति रहेकको कार्कीले बताए । उनले आफुले भने त्यस्तो समस्या नहोस्  भन्न सोही अनुसारको भ्रूण नै गाईकोे गर्भमा राख्ने गरेको बताए ।

दक्ष जनशक्ति कै कमी

कार्कीको गोठमा अहिले २८ जनाले रोजगारी पाएका छन् । तर उनीहरु सोही क्षेत्रका तालिम लिएर भने आएका होईनन् । अहिले पनि यस क्षेत्रमा दक्ष जनशक्तिको अभाव रहेको कार्कीले बताए । उनको फार्ममा एक जना चिकित्सक छन्, उनी भारतका हुन् । अधिकाशंलाई कार्कीले नै काम सिकाउने गरेका छन् । गाईको स्यहार सुसार गर्नेदेखि दुहुने तथा बाच्छाबाच्छीको हेरविचारमा निरन्तर अनुगमन गरिरहन्छन्  बाबुराम । दुध दुहँदा निकै ध्यान दिनुपर्ने भएकाले आफु निरन्तर लागिरहने गरेको कार्कीले बताए । दक्ष जनशक्तिको विकास गरि कृषि पेशालाई अझै विकसित बनाउनु अहिलेको आवश्यकता हो ।

कार्कीले आफ्नै गोठमा कुनै गाईको ५५ लिटरसम्म दैनिक दुध दुहुन्छन् । ति गाईको खानपानमा ध्यान दिन सके अझै बढ्ने उनको भनाई छ । कार्की आफ्नो शुरुवाती अनुभव सम्झँदै भन्छन्, ‘शुरु शुरुमा केही मानिसले पागल भन्थे, विश्वविद्यालय पनि पढाउने भन्ने मान्छे यो गोठमा सबै काम गर्छ भन्थे ।’ तर अहिले उनीहरुको धारणा परिवर्तन भएको छ । अहिले उनले ५ करोड लगानी गरी नयाँ प्रविधिमा आधारित गोठको तयारी गरिरहेका छन् । गाई दुहुनका लागि मिल्किङ पार्लर, घाँस काट्ने मेशिन, गोबर सोहोर्ने मेशिनसहितको गोठ बनाउन उनको योजना छ । यस्ता गोठ झापा र चितवनमा मात्रै छन् ।