
काठमाडौं । मध्य बर्खा, त्यसमाथि फोहोर थुप्रिन थालेपछि उपत्यकामा सरुवा रोगको त्रास बढेको छ ।
मनसुनमा त्यसै पनि बिरामी बढ्ने भए पनि पछिल्लो दुई सातादेखि उपत्यकामा फोहोर थुप्रिन थालेपछि त्यसको असर अस्पतालमा देखिन थालेको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पछिल्लो समय दैनिक १० जना बढी झाडापखालाका बिरामी पुग्न थालेका छन् ।
दुई सातादेखि उपत्यकामा फोहोर नउठेकाले पनि त्यसको असर पर्न थालेको चिकित्सकहरूको आशंका छ । अस्पतालमा सामान्यदेखि सिकिस्त बिरामीसम्म पुगेका छन् ।
मनसुन सुरु भइसकेको र अब फोहोर व्यवस्थापन भएन भने फोहोर पानीमा जीवाणु मिसिने र त्यसले हैजासमेत फैलनसक्ने जनस्वास्थ्यविद् डा. शेरबहादुर पुन बताउनुहुन्छ ।
अस्पताल पुग्ने बिरामीमा पेट दुख्ने, रुघाखोकी, ज्वरो, झाडापखाला र आउँ पर्ने समस्या रहेको छ । यी सबै दूषित पानी र खानेकुराका कारण हुने रोग हुन् ।
फोहोरबाट झाडापखाला, हैजा, जुका, पेटको समस्या, करेला र छालासम्बन्धी रोगका देखिने चिकित्सकहरू बताउँछन् । यस्तो अवस्थामा स्वस्थ्य खानेपानी र स्वस्थ्य जीवनशैली अपनाउन डा. पुनको सुझाव छ ।

हप्तौंदेखि थुप्रिएको फोहरले दैनिक ज्यालादारी गरेर खाने वर्ग प्रताडित छ । आफ्नो घर र व्यापार गर्ने थलो अघिल्तिर फोहोरको डुंगुर थुप्रिँदा पैदलयात्री, व्यवसायी र स्थानीय त प्रभावित छन् ।
व्यवसाय र पैदलयात्रुको प्रभावित हुनुको अलावा ज्येष्ठ नागरिक र बालबालिकाको स्वास्थ्य जोखिममा पर्दै गएको छ । उनीहरु आफ्नो स्वास्थ्यप्रति चिन्तित छन् । फोहोरका कारण स्वास्थ्यमा असर परेको अनुभव उपत्यकाबासीले गर्न थालिसकेका छन् ।
स्थानीय जनप्रतिनिधि उठाउने सहज प्रबन्ध नभएसम्म फोहोर घरमै राख्न सल्लाह दिन्छन् । बाटोमा फोहोरको थुप्रो लाउँदा अरूको स्वास्थ्य प्रभावित हुने उनको तर्क छ ।
व्यवस्थापन गर्न जान्दा फोहोर मोहोर हो भने नजान्दा रोग हो । कारण जे सुकै भएर फोहोर नउठेपछि स्वास्थ्य बिग्रिँदा दुःख पाउने नागरिकले नै हो । महँगो उपचारमा आफूलाई धकेल्नुभन्दा स्वास्थ्य चेतनामा आफूलाई अब्बल राख्नु सर्वोत्तम उपाय हो ।
प्रतिक्रिया दिनुहोस्