२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सरकारकाे दाेधारे नीति, २१ वर्षअघिको दृष्टान्त दोहोर्‍याउँदै देउवा


858
Shares

सरकारकाे दाेधारे नीति, २१ वर्षअघिको दृष्टान्त दोहोर्‍याउँदै देउवाकाठमाडौं । २०५८ सालमा हप्ताको दुईदिने बिदा दिने निर्णय गरी आफ्नै निर्णय फिर्ता लिएका शेरबहादुर देउवाले २१ वर्षपछि त्यही दृश्य दोहोर्‍याउनुभएको छ ।

२०५६ साल साउन १ गतेबाट कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भएको समयमा इन्धन जोगाउन सरकारले दुई दिन बिदा दिने निर्णय गरेको थियो । दुई वर्षसम्म दुईदिने विदाले निरन्तरता पायो ।

विश्वमा चलिरहेको अभ्यास, इन्धनमा बढेको आर्थिक भार, बिजुली, पानीजस्ता वस्तुको खपत घटाउन र आन्तरिक पर्यटनको प्रवर्द्धनमा सघाउन दुईदिने बिदाको निर्णय गरिए पनि त्यसको कुनै सकारात्मक प्रभाव देखिएन ।

९ः३० बजे कार्यालय समय तोकिए पनि १० बजे यता कर्मचारी कुर्सीमा देखिएनन् । दुईदिने सरकारी बिदा घोषणालगत्तै हटाइएकोबारे कर्मचारीको मिश्रित प्रतिक्रिया छ ।

कोही बिदा खारेज भएकोमा दुःख व्यक्त गर्छन् भने कतिपयलाई पहिलाकै तालिकामा चल्न सहज भएकाले खारेजीलाई सामान्य रुपमा लिन्छन् ।

सार्वजनिक बिदाको अन्तर्राष्ट्रिय अभ्यास विश्व श्रम संगठनको सन्धि ४७ ले श्रमिकलाई हप्तामा ४० घण्टा आधारभूत सेवाकार्य समय तोकेको छ । विश्लेषण गरिएका १ सय २७ देशमध्ये १ सय १६ देशमा हप्तामा ५ दिन कार्यालय सञ्चालन हुन्छन् ।

११ देशमा मात्र हप्तामा ६ दिन कार्यालय सञ्चालन हुन्छन् । एसिया महादेशका ४३ मध्ये २८ देशमा हप्तामा ५ दिन कार्य दिन छ । सार्क सदस्य राष्ट्रहरूमध्ये नेपालबाहेक सबैमा हप्तामा दुई दिन सार्वजनिक बिदा दिने प्रावधान छ ।

नागरिकको एउटै गुनासो छ कि सरकारी कार्यालयहरूमा भनेको बेला काम हुँदैन । ढिलासुस्ती नै सरकारी कार्यालयहरूको पर्याय हो ।

यस्ता हविगत भएको मुलुकमा वर्षका ३ सय ६५ दिनमध्ये १ सय ६१ दिनमात्रै अर्थात् आधाभन्दा कम दिन काम हुने हो भने नागरिकको हालत के होला ? दुईदिने विदाप्रति आमनागरिक सन्तुष्ट छैनन् ।

इन्धनको खपत र सार्वजनिक सरकारी कार्यालयको खर्च न्यूनीकरण गर्नु मूल उद्देश्य हो । तर, यो निर्णय लिनुअघि सरकारले अध्ययन र अनुसन्धान गरेको कतै सार्वजनिक भएको छैन ।

दुईदिन बिदा दिँदा इन्धनको खपत कति न्यून हुन्छ र सार्वजनिक सरकारी कार्यालयको खर्च कति घट्छ भन्ने यकिन छैन । यसै पनि वर्षमा ५२ वटा शनिबार हुन्छन् ।

सरकारी कर्मचारीलाई बिरामी १२, पर्व ६ र भैपरी आउने बिदा ६ दिन हुन्छ । यो वर्षमात्रै कम्तीमा ३१ वटा चाडपर्व र दिवसलगायतका सार्वजनिक बिदा छन् ।

त्यसो त बिदा अधिकार हैन । यद्यपि बिदाका नाममा हुने यसखाले नौटंकी कसैका लागि फलदायी नहुने पक्का छ ।