
बिर्तामोड । सवारी दुर्घटना न्यीनकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले शुक्रबारबाट ‘मादक पदार्थ सेवन गरी सवारी नचलाऔं’ अभियान सुरु गरेको छ ।
जिल्लामा भएका अधिकांश दुर्घटनाको प्रमुख कारण मादक पदार्थ सेवन नै देखिएपछि ट्राफिक प्रहरीले दुर्घटना रोक्न यस्तो अभियान सुरु गरेको हो । अभियानको उद्घाटन झापाका प्रमुख जिल्ला अधिकारी छबि रिजालले गर्नुभयो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको सभाकक्षमा यातायात व्यवसायी, सवारी चालक र नागरिक समाजका पदाधिकारी समेतको उपस्थितिमा अभियानको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी रिजालले सबारी दुर्घटना न्यूनीकरणका लागि सबै पक्ष सचेत बन्नुपर्ने बताउनुभयो ।
उहाँले नेपाल विश्वमै धेरै सवारी दुर्घटना हुने मुलुक मध्येमा परेको बताउँदै कुल ग्राहस्थ उत्पादनको ०.७५ प्रतिशत क्षति सवारी दुर्घटनाका कारण राज्यले ब्यहोर्दै आएको बताउनुभयो ।
चालू आर्थिक वर्ष जेठ तेस्रो सातासम्ममा झापामा ५५० वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा परी १०६ जनाले ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्