१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संघीयताले अझै पूर्णता पाएन : मुख्यमन्त्री पोखरेल

पोखरामा ११ जिल्लाका १७० जनप्रतिनिधिको भेला पोखरामा सुरु

65
Shares

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संघीयताले अझै पूर्णता नपाएको बताउनुभएको छ ।

स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिको लागि स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकास सम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधानले दिएको अधिकार प्रयोग गरेर काम गर्न स्थानीय तहका जनप्रतिनिधिलाई निर्देशन दिनुभयो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको २ दिने कार्यक्रममा नगरपालिकाका नगर प्रमुख र उपप्रमुख एवं गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष सम्मिलित प्रशिक्षणमा गण्डकी प्रदेशलाई समृद्ध प्रदेश बनाउने साझा योजना समेत बनाउने छन् ।

मुख्यमन्त्री पोखरेलले ग्रेटर पोखरा निर्माणसँगै समृद्ध प्रदेश निर्माणका लागि सबैको सहयोग आवश्यकता हुने हुँदा पालिका पालिका, नगर नगर मिलेर समन्वयको काम गर्नुपर्ने बताउनुभयो । संविधानले ताेकेका अधिकारलाई प्रयोग गरेर तीनै तहका सरकार अगाडि बढ्न सकेमात्र समृद्ध हासिल गर्न सकिने बताउनुभयो ।

मुख्यमन्त्री पोखरेलले प्रदेशका ८५ वटै पालिकाले लिएको लक्ष्य प्राप्त गर्न सके मात्र प्रदेश समृद्धिको अभियान पुरा हुने बताउनुभयो । सीमित स्रोत साधनको अधिकतम प्रयोगबाट स्थानीय तहले विकासलाई अगाडी बढाउनुपर्ने उहाँको भनाइ थियो ।

नेपालमा वित्तीय संघीयता कमजोर रहेको पोखरेलले गुनासो गर्नुभयो । ७० प्रतिशत बजेट अहिले पनि केन्द्रमा रहने भएका कारण प्रदेश र स्थानीय तह सिमित स्रोतबाट सञ्चालन गर्नुपरेको बताउनुभयो ।

कार्यक्रमका सहभागीहरूलाई स्थानीय तहको योजना तथा वार्षिक बजेट तर्जुमा प्रक्रिया र मध्यमकालीन खर्च संरचना, स्थानीय तहको काम, कर्तव्य र अधिकार तथा संघ, प्रदेश र स्थनीय तहबीचको अन्तरसम्बन्ध, स्थानीय तहको राजस्व अधिकार तथा अन्तर सरकारी वित्तीय हस्तान्तरण र विकास, सहरी योजना तथा भवन निर्माण सम्बन्धी मापदण्डबारे विज्ञले अभिमुखीकरण गर्ने कार्यक्रम रहेको छ ।

स्थानीय तह सञ्चालनका लागि पर्ने समस्या समाधान गर्ने उपाय र जनतालाई सहज रूपमा सेवा दिने योजनासमेत कार्यढाँचा प्रस्तुत हुनेछ । आगामी आर्थिक वर्षको लागि स्थानीय तहले असार १० गते ल्याउने बजेटलाई विकासमुखी र सेवामुखी बनाउने बारेमा पनि छलफल गर्ने जनाइएको छ ।

कार्यक्रममा गण्डकीका ११ जिल्लाका गरी करिब १ सय ७० जना जनप्रतिनिधिको सहभागिता छ । प्रशिक्षणले नयाँ जनप्रतिनिधि र दोहोरिएका प्रतिनिधिबीच आपसी समन्वयमा भूमिका खेल्ने विश्वास गरिएको छ ।