
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सरकारको उद्देश्य स्वदेशी उद्योगको संरक्षण एवं प्रवर्घन नै रहेको भन्दै बजेटले पारेका अप्ठेरा सम्बोधन गर्न सरकार तयार रहेको बताउनुभएको छ ।
पूर्वका उद्योगी व्यवसायीसँग शुक्रबार मन्त्रालयमा भएको छलफलका क्रममा मन्त्री शर्माले बजेटले स्वदेशी उद्योगलाई उच्च प्राथमिकता दिएर मुलुक भित्रै औद्योगिकरण बिस्तार गरी आर्थिक गतिविधि अघि बढाउन खोजिएको पनि दाबी गर्नुभयो । उहाँले सबैसँग छलफल गरेर बजेट ल्याएकाले सबै पक्षलाई समेट्ने प्रयास भएको उहाँलेबताउनुभयो ।
भेटमा उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघको प्रदेश नम्बर १ का प्रतिनिधिले आगामी आर्थिक बर्षको बजेटले वायर, घिउतेल र स्यानीटरी उद्योगमा पारेको प्रभावका बारेमा अर्थमन्त्री शर्मा समक्ष गुनासो राख्नुभएको थियो ।
आम महिलाबर्गलाई राहत हुने गरी स्यानिटरी प्याड आयातमा ठूलो भन्सार छुट उपलब्ध गराएको र यस्तो छुटले स्वदेशी उद्योगलाई केही समस्या भएको पाए समाधान निकाल्न तयार रहेको अर्थमन्त्री शर्माले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कच्चा तेल आयात गरी स्वदेशमा उद्योग चलाउने र रोजगारी सृजना गर्नेलाई बजेटले सम्बोधन गरेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्