
पाल्पा । पाल्पाको तानसेनमा रहेको सेनेटरी ल्याण्डफिल्ड साइट १० वर्षदेखि प्रयोगबिहीन भएकाे छ ।
स्थानीयवासीको अवरोधका कारण १० वर्षदेखि ल्याण्डफिल्ड साइड प्रयोगबिहीन बनेको हो । जसले गर्दा नगरको फोहोर विर्सजनमा वर्षेनी समस्या हुँदै आएको छ ।
तानसेन शिवपोखरीको सम्मोबारीमा निर्माण भएको ल्याण्डफिल्ड साइटले नजिकैको बस्तीमा दुर्गन्ध फैलाएको भन्दै स्थानीयले अवरोध गरेका कारण अहिले त्यो प्रयोग बिहीन बनेको छ । फोहोर व्यवस्थापन गर्न भन्दै स्थानीय तहले ३ करोड रुपैयाँ भन्दा बढी लागतमा ल्याण्डफिल्ड साइट निर्माण गरेको थियो । तर साइट प्रयोगमा नआउदा यहाँको फोहोर व्यवस्थापन अझै हुन सकेको छैन् ।
अन्तर्राष्ट्रिय मान्यता र सेनेटरी ल्याण्डफिल्ड साइटको अवधारणा विपरित फोहोर फालिएको भन्दै त्यस क्षेत्रका स्थानीयले भने फोहोर फ्याल्न रोक लगाएका छन् । ल्याण्डफिल्ड साइड प्रयोगमा नआउदा बजारबाट निस्कने फोहोर बनदेविस्थित जंगल र सडक छेउमा फालिदै आएपछि रोग ब्याधिको समस्या समेत सिर्जना हुने देखिन्छ । जथाभावी रुपमा फोहोर फाल्ने गरेका कारण मानव स्वास्थ्यमा समेत असर पुग्ने गरेको स्थानीयको गुनसो छ ।
तानसेनबाट मात्र दैनिक साँढे २ टन फोहोर उत्पादन हुने गर्दछ । बजारबाट निस्कने फोहोर बस्ती छेउमै फालिदा त्यसबाट निस्कने दुर्गन्धले गर्दा नजिकै रहेका बस्तीमा असर पुगेको छ । एकातर्फ नगरपालिकाले प्रयोगबिहीन साइट सञ्चालनतर्फ ध्यान दिएको छैन् भने सडक छेउमै फोहोर फालिदा त्यसले नकारात्मक असर पुर्याइरहेको स्थानीय बताउँछन् ।
सामुदायिक वनमा फालिएको फोहोरले यस आसपासका क्षेत्रमा समेत असर पर्न गएको छ नै अझ दिनहुँ गुड्ने गाडीमा सवार यात्रीहरुलाई यो बाटो पार गर्न निकै हम्मेहम्मे पर्ने गरेको छ । फोहोर व्यवस्थापनका लागि निर्माण गरिएको ल्याण्डफिल्ड साइटको विस्तृत अध्ययन गरी सबैको समन्वय र सहकार्यमा समस्या समाधानमा लाग्ने नगरप्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो ।
करोडौं रुपैयाँ लगानी गरेर निर्माण गरिएको सेनेटरी ल्याण्डफिल्ड साइट बन्द हुुनु आफैमा राम्रो सन्देश भने होइन् । फोहोर जस्तो संवेदनशील विषयमा सबै सजग हुनुपर्छ । नत्र यसले गाउँमा मात्र हैन, यस आसपासका क्षेत्रमासमेत रोग ब्याधि ननिम्तेला भन्ने छैन् ।
त्यसैले दीर्घकालीन समयका लागि भने ल्याण्डफिल्ड साइट सञ्चालनमा ल्याउनुको विकल्प छैन् ।
प्रतिक्रिया दिनुहोस्