२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


युक्रेनी बन्दरगाह शहर मारिओपोलमा हैजा प्रकोप


468
Shares

काठमाडौं । युक्रेनी बन्दरगाह शहर मारिओपोलमा हैजा प्रकोपको जोखिम देखिएको छ ।

रुसी सेनाको आक्रमणबाट ध्वस्त बनेको युक्रेनको मारिओपोल गएको मे महिनामा रुसले कब्जा गरेको थियो । संयुक्त राष्ट्र संघका अनुसार यो शहरमा धेरैजसो पूर्वाधार क्षतिग्रस्त भएका छन् भने पानीमा ढल मिसिएको छ ।

आक्रमणपछि ज्यान गुमाएकाहरूको शव जम्मा नगरिएको, फोहोर बढेको, पानी तथा खानाबाट हैजा प्रकोपको जोखिम बढेको राष्ट्र संघले जनाएको हो ।

हैजा दुषित खानेकुरा वा पानीबाट सर्ने गर्छ । शवहरू अझै भग्नावशेषमुनि रहेका र सडेको अवस्थामा रहेका छन् । मारिओपोलमा पहिला पनि हैजा, पखाला र अन्य संक्रमक रोगहरू देखिएको थियो ।

सम्भावित प्रकोपबाट जोगिन शहर बन्द गरिएको रुसी सेनाले नियुक्त गरेका मेयर भादिम बोयचेन्कोले बताएको बीबीसीले जनाएको छ । त्यहाँ आफूहरूको पहुँच सिमित रहेको युक्रेनको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।