१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नागरिकता बनाउन लालबन्दी गएका भान्जाद्वारा मामाको हत्या


1.911k
Shares

सर्लाही । लालबन्दी नगरपालिका–११, हीरापुरमा एक युवकले आफ्नै मामाको हत्या गरेका छन् ।

बारीमा काम गर्नेक्रममा भएको विवादमा शनिबार हीरापुरका ३१ वर्षीय रवि विकले मामा लालबन्दी–१७, रानीगञ्ज निवासी ४५ वर्षीय अशोक विकको हत्या गरेका हुन् ।

तरकारी लगाउन माच बनाउने क्रममा विवाद भएपछि रविले अशोकको टाउकोमा बाँसले प्रहार गरेका प्रत्यक्षदर्शीले बताएका छन् ।

घाइते अशोकलाई उपचारका लागि जनकपुरतर्फ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । घटनामा संलग्न रविलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

प्रायः काठमाण्डौंमा बस्ने रवि नागरिकता बनाउन भन्दै केही दिनअघि मात्रै घर आएका थिए । घर आएपछि रवि मामासँगै मिलेर नातेदार काकाको बारीमा तरकारी खेतीका लागि माच बनाउन खटिएका थिए ।

मामा र भान्जाबीच भएको विवादको कारण खुल्न सकेको छैन । सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद बुढाथोकीले हत्यामा संलग्न रविलाई लालबन्दी प्रहरीको हिरासतमा राखी अनुसन्धान भइरहेको बताउनुभयो ।