
काठमाडौं । कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालयको मैदानमा १९ सदस्यीय नेपाली राष्ट्रिय महिला टोली मलेसियामा हुने एसीसी महिला टी–२० च्याम्पियनसिपको तयारी गरिरहेको छ ।
मौसम प्रतिकुल भए पनि एशिया कप छनोट हुने लक्ष्यसाथ टोलीले च्याम्पियनसिपको तयारीलाई तीव्रता दिएको छ । पछिल्लो पटक युगाण्डासँगको श्रृंखलामा देखिएको फिटनेस र फिल्डिङको समस्या निराकरण गर्न प्रशिक्षणमा जुटेको मुख्य प्रशिक्षक जगत टमाटा बताउँछन् ।
एशियन क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा हुन लागेको प्रतियोगिता जुन १७ देखि २५ सम्म मलेसियामा हुँदैछ । १० टोलीले सहभागिता जनाउने प्रतियोगितामा आयोजक मलेसियासहित नेपाल, बहराइन, भुटान, हङकङ, कुवेत, सिंगापुर, ओमान, कतार र संयुक्त अरब इमिरेट्स (युएई) रहेका छन् ।
सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । सहभागी टोलीमध्ये नेपाललाई चुनौती दिने हङकङ भएको प्रशिक्षक टमाटाको बुझाइ छ । यद्यपि आफूहरू छनोट भएर आउने उहाँको भनाइ छ ।
युगाण्डासँगको श्रृंखलाले नेपाली टोलीको स्तर छुट्याइदिएको भन्दै नेपाली टोलीकी कप्तान रुबिना क्षेत्री सोही कमी कमजोरी सुधारिरहेको बताउँछिन् । च्याम्पियनसिप नेपाली टोलीका लागि चुनौतीपूर्ण रहे पनि टिम खालीहात नफर्कने उनको भनाइ छ ।
समूह चरणको प्रतिस्पर्धापछि दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनलमा प्रवेश गरेका टोली अक्टोबरमा आयोजना हुने महिला टी–२० एशिया कपमा छनोट हुनेछन् । छनोट हुने टोली भारत, पाकिस्तान, श्रीलंका र आयोजक बंगलादेश जस्ता टोलीसँग एशियाकपमा भिड्नेछन् ।
प्रतिक्रिया दिनुहोस्