
पोखरा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनको परिणामलाई हार–जीतको रूपमा नलिन आग्रह गर्नुभएको छ ।
माओवादी केन्द्रबाट नवनिर्वाचित गण्डकी प्रदेशका जनप्रतिनिधिहरूको प्रशिक्षणलाई शनिबार पोखरामा उद्घाटन गर्दै अध्यक्ष दाहालले यस्तो बताउनुभयो ।
अध्यक्ष दाहालले अघिल्लो स्थानीय तहका निर्वाचितलाई आफ्नो तरिकाले चल्न दिइए पनि अब भने पार्टीको नीति, सिद्धान्त र जनअपेक्षाअनुरुप चल्नुपर्ने बताउनुभयो ।
जनयुद्धबाट हासिल उपलब्धि समाप्त पार्ने षड्यन्त्र बरोबर भइरहेको उल्लेख गर्दै संघीयता, गणतन्त्र र नेपालको संविधान रक्षाका लागि सधैं सचेत हुनुपर्ने उहाँको भनाइ थियो ।
विगतमा केपी ओलीले संसद नै विघटन गरेर उपलब्धि समाप्त पार्न खोेजेको आरोप लगाउँदै उहाँले अहिलेको चुनावसहित आगामी चुनावमा समेत गठबन्धन गरेरै अघि बढ्नुपर्ने अवस्था सिर्जना भएको बताउनुभयो ।
प्रशिक्षणमा माओवादी नेता नारायणकाजी श्रेष्ठ, देवेन्द्र पौडेल, देव गुरुङ लगायतले प्रशिक्षण दिनेछन् ।
गण्डकी प्रदेश सरकारले स्थानीय तह चुनावमा प्रदेशका ८५ पालिकाका प्रमुख उपप्रमुखहरूको लागि शुक्रबारदेखि आयोजना गरेको प्रशिक्षण अवसरमा माओवादीले आफ्ना पार्टीका जनप्रतिनिधिलाई पनि प्रशिक्षण दिएको हो ।
प्रतिक्रिया दिनुहोस्