
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले सडक, विद्युत, टेलिकम र खानेपानीकाे कामकाे अनुगमन महानगरले गर्न पाउनुपर्ने माग गर्नुभएकाे छ ।
महानगरपालिकाको दोस्रो कार्यपालिका बैठकमा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे। सडक विभाग, विद्युत प्राधिकरण, टेलिकम र खानेपानी विभागसँग समन्वय गरेर काम गर्ने विषयमा छलफल भइरहेको समेत उहाँले बताउनुभएको छ । उहाँले आफूले सडक, विद्युत, टेलिकम र खानेपानीका प्रमुखहरूसँग एक चरण छलफल गरिसकेको पनि बताउनुभएकाे हाे । उहाँले प्रत्येक महिनाको पहिलो सोमबार उनीहरूसँग छलफल गर्ने सहमति समेत भएको बताउनुभयो।
त्यस्तै उहाँले फोहोर कुहिने र नकुहिने गरी छुट्याएर उठाउन थालेलगत्तै कम्पोस्ट मल उत्पादनकाे काम पनि थाल्नुपर्ने भएकाे बताउनुभएकाे छ । बञ्चरेडाँडास्थित ल्याण्डफिल साइटको एउटा सेक्सनमा कम्पोस्ट मलको कारखाना सञ्चालन गर्ने विषयमा पनि छलफल भइरहेको समेत उहाँले जानकारी दिनुभयो । त्यसैगरी ल्याण्डफिल साइटमा जीवजन्तु र पर्यावरणमा असर नपुगोस भनेर दुर्गन्ध हटाउन जैविक रसायन प्रयोग गर्ने पनि उहाँले बताउनुभयो ।
बैैठकमा वडाध्यक्षहरुले धुलो बढार्ने ब्रुमरको प्रयोग हुन नसकेको विषय उठाएकोमा मेयर साहले ३ दिनभित्र ब्रुमरको चालक ब्यवस्था हुने र त्यसपछि ब्रुमर सञ्चालनमा आउने जानकारी दिनुभयो । बैैठकमा सहभागी वडाध्यक्षहरूले ढल ब्यवस्थापन विभागले सहयोग सर्वसाधारणबाट पैसा प्रत्येक महिना उठाउनुपर्ने समेत बताएका छन् । तर ढलको ब्यवस्थापन नगर्दा अप्ठेरो भएको भन्दै त्यसमा तत्काल कदम चाल्नुपर्नेमा पनि वडाध्यक्षहरूले जाेड दिएका छन् । साथै उनीहरुले बैठकमा फोहोर बापत घरघरबाट उठाउने गरिएको पैसा कहाँ गएको छ भन्ने विषयमा पनि महानगरपालिकाले खोजी गर्न ध्यानाकर्षण गराएका छन् ।
त्यस्तै फोहोरलाई कुहिने र नकुहिने गरी छुट्याएपछि फोहोर बापत तिर्नुपर्ने शुल्क पनि घट्नुपर्ने माग पनि वडाध्यक्षहरुले गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्