१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025


कोरोना भाइरस फैलाएको भन्दै चीनविरुद्ध मुद्दा !


0
Shares

एजेन्सी, बैशाख १० । कोरोना भाइरस नियतवश फैलाएको भन्दै अमेरिकाले चीनविरुद्ध मुद्दा हाल्ने भएको छ ।

नियतवश कोरोनाभाइरस महामारी फैलाएको आरोपमा अमेरिकी राज्य मिजुरीले चीन सरकार र सत्तारूढ कम्युनिस्ट पार्टीवरुद्ध अदालतमा मुद्दा हाल्ने तयारी गरेको हो ।

मिजुरीका महान्यायाधिवक्ता एरिक स्च्मिटले भने, ‘चिनियाँ सरकाले विश्वलाई कोभिड–१९ को जोखिम र संक्रामक गतिका बारेमा ढाँट्यो, सूचना दिन खोज्नेलाई चुप लगायो र रोग रोक्न यथेष्ट काम गरेन । त्यसका लागि उनीहरूलाई उत्तरदायी बनाउन पर्छ’ ।

मुद्दामा मानिसको मृत्यु, उनीहरूको दुःख र राज्यमा भएको आर्थिक विपद्का लागि क्षतिपूर्ति मागिने छ ।

तर चीनले भने अमेरिकीहरुको यो अरोपको निरन्तर खण्डन गर्दै आएको छ । विपद्लाई गलत तरिकाले व्यवस्थापन गरेको भन्ने आरोप उसले अस्वीकार गर्दै आएको हो ।

तर अमेरिकी अदालतहरूमा विदेशी सरकारलाई प्रतिपक्षी बनाउन नपाइने व्यवस्था रहेकाले चीनले यस्ता मुद्दाबाट डराउनुपर्ने अवस्था नरहेको पनि बताइएको छ । अमेरिकाले चीनविरुद्ध मुद्दा हाल्ने हो भने अन्तर्राष्ट्रिय मञ्चमै पुग्नुपर्ने र त्यहाँ चीनले पनि जवाफ दिने मौका पाउने बताइएको छ ।

शुरुमा चीनले कोरोनाभाइरस नियन्त्रण गर्न चालेको कदमको प्रशंसा गरेका राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा संक्रमण र मृत्यु ह्वात्तै बढेपछि आफूमाथि हुने आलोचना छल्न चीनतर्फ चौर औँला ठड्याएको टिप्पणी गर्नेहरु पनि उत्तिकै छन् ।

यसै वर्षको अन्त्यमा हुने राष्ट्रपति निर्वाचनका लागि ट्रम्पलाई चीनविरुद्धको यो मुद्दा मसला बन्ने टिप्पणी गरिएको छ ।