१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025


ओली र दाहालले गरे अध्यादेशबारे सांसदहरुसँग छलफल, ओलीद्वारा बचाउको प्रयास


0
Shares

काठमाडौं, बैशाख १० । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालले सांसदहरुलाई सम्बोधन गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाएर संघीय संसदका सांसदहरुसँग दुबै अध्यक्षले छलफल गरेका हुन् । छलफलमा सम्बन्धित प्रदेशभित्रबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्य छन् ।

सरकारले दुई दिन अगाडि ल्याएको अध्यादेशबारे पार्टीभित्रै विवाद भइरहेका बेला दुबै अध्यक्षले सांसदहरुलाई सँगै छलफल गरेका हुन् । छलफल जारी अध्यादेश र कोरोना भाइरसविरूद्धको लकडाउनलगायतका विषयमा सांसदहरूलाई स्पष्ट गर्न गरिएको हो ।

प्रधानमन्त्री र पार्टी अध्यक्षले सांसदहरुसँग कोरोना संक्रमणविरुद्धको कामलगायतका बारेमा छलफल गरेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराएका छन् ।

प्रदेशगत रुपमा नेकपा सांसदहरुलाई बालुवाटारमा बोलाएर पछिल्लो अवस्थाबारे सांसदहरुका सुझाव र तल भइरहेका कामहरु बारेमा जानकारी लिइएको थापाले बताए । सबै सांसदलाई एकैपटक राखेर बैठक गर्दा भीड हुने भएकाले अलग अलग प्रदेशकालाई बोलाइएको बताइएको छ ।

संवैधानिक परिषदमा विपक्षी हटाउने अध्यादेशबारे प्रधानमन्त्रीले सांसदहरुलाई प्रतिपक्षी दलले जेमा पनि भाग र नियुक्ति खोज्न थालेकाले ल्याउनु परेको प्रष्टीकरण दिएका थिए । यसबारे भीम रावलले केही बोल्न खोज्दा प्रधानमन्त्री ओलीले अहिले त्यस्तो कुरा गर्ने समय नभएको भन्दै रोकिदिएका थिए ।

प्रधानमन्त्री ओलीले दल विभाजनमा ४० प्रतिशत हुँदा र नहुँदा खासै फरक नपर्ने भन्दै सांसदहरुको जिज्ञासा टारिदिएका थिए । उनले भारतसँगको नाका तत्काल नखुल्ने भन्दै देशभित्र लकडाउन खुकुलो हुनसक्ने पनि बताएका थिए ।

पार्टी स्थापना दिवसको अवसरमा बालुवाटारमा आयोजित छलफलमा प्रधामनन्त्री ओली, अध्यक्ष प्रचण्ड, संसदीय दलका उपनेता सुवास नेम्वाङ लगायत नेता सहभागी छन् ।

सुदूर पश्चिम प्रदेशबाट शुरू भएको छलफल प्रदेश नं १ र वागमती प्रदेश हुँदै क्रमशः सातवटै प्रदेशका सांसदसँग आज र भोलिसम्म गरिनेछ थापाले जानकारी दिएका छन् ।