
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदिपकुमार ज्ञवालीले सरकारको परराष्ट्र सम्बन्धको प्रस्थान बिन्दु नै गलत भएको बताउनुभएको छ ।
सोमबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्र नीतिबारे बोल्दै उपमहासचिव ज्ञवालीले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान गठबन्धन सरकार बन्दैगर्दा नेपाली जनताको हित र राष्ट्रको हीतमा काम गर्ने भन्दा पनि अन्य देशको लागि कम्फर्टेबल बन्नेगरी अगाडि बढेको आरोप लगाउनुभयो ।
ज्ञवालीले सरकारले पछिल्लो समय केही निर्णयहरु कम्फर्टेबल बन्ने किसिमले गरेको पनि बताउनुभयो । उहाँले सरकारले अन्तर्राष्ट्रिय सम्बन्धमा गरेका गतिविधिको कारण नेपालको परराष्ट्र सम्बन्ध विचलन आएको बताउनुभयो । सरकारले शुरुमा नै चीनसँग कृत्रिम सीमा विवादको विषय निकालेर गल्ती गरेको बताउनुभयो ।
उपमहासचिव ज्ञवालीले सरकारले एउटा छिमेकी राष्ट्रलाई खुशी पार्ने र अर्कोलाई चिढ्याउने काम गरेको आरोप लगाउनुभयो । उहाँले एउटा देशलाई रिझाउने र अर्कोलाई चिढ्यााउने काम गर्नु उचित नभएको जिकिर गर्नुभयो ।
ज्ञवालीले सरकारलाई विदेशी ऋण लिँदा नेपालको हीत र राष्ट्रिय आवश्यकतालाई हेरेर लिन सुझाव दिनुभयो । उहाँले प्रधानमन्त्रीको अमेरिका भ्रमण रक्षामन्त्री, नेपाली काँग्रेसको सभापति वा गठबन्धनको प्रधानमन्त्रीको हैसियतले हुन लागेको हो भन्ने जानकारी दिन माग गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्