
काठमाडौं, बैशाख ११ । समाजवादी पार्टी फुटाउन सरकारले सम्पूर्ण संयन्त्र लगाएर समाजवादी पार्टीका सांसदलाई काठमाडौंको मेरियट होटलमा थुनेको आरोप लागेको छ ।
समाजवादी पार्टी विभाजनको तयारी गरिरहेका केही नेता र सांसदलाई काठमाडौँको मेरियट होटलमा सरकारी घेरामा ‘बन्धक’ जसरी राखिएको आरोप समाजवादीका नेताहरुले लगाएका हुन् ।
समाजवादीका नेता विश्वदिप पाण्डेले केही सांसदलाई डर, केहीलाई मन्त्री पद र केहीलाई आर्थिक लगायत प्रलोभन देखाएर राखिएको जानकारी दिए । होटलमा रेणु यादव, इस्तियाकराई सहितको टीमलाई राखिएको जानकारी दिँदै उनले केही नेता भने सरकारी घेरा तोडेर निस्कन सफल दाबी गरेका छन् ।
हिजोदेखि अपहरण गरिएका भनिएका पूर्वस्वास्थ्य मन्त्री समेत रहेका डा. सुरेन्द्र यादव भने बिहीबार बिहान मेरियटबाट सरकारी घेरा तोडेर निसक्न सफल भएको पाण्डेले बताएका हुन् । उनलाई प्रहरीले जनकपुरबाट अपहरणको शैलीमा गिरफ्तार गरेर बुधबार राति नै काठमाडौँ ल्याएको दाबी पाण्डेको छ ।
पार्टीका नेताहरु डा.बाबुराम भट्टराई लगायतले ‘बन्धक’ जसरी राखिएका नेताहरुको उद्धारका लागि प्रयास गरिरहेको पनि उनले जनाएका छन् । समाजवादी पार्टी विभाजनका लागि ७ जना सांसदले अन्तिम तयारी गरिरहेका थिए ।
आफ्नो पार्टी विभाजन गर्नकै लागि प्रधानमन्त्रीले दल विभाजन अध्यादेशसमेत ल्याएपछि समाजवादी र जनता पार्टीले बुधबार मध्यरात मै हतारहतार पार्टी एकताको घोषणा गरेका थिए ।
हिजो बेलुका कसरी अपहरण भयो, प्रशासनबाट के के दुःख भोग्नुपर्यो, प्रमले राती फोनमा के भन्नुभो, विहान होटलबाट कसरी भागें भनेर सांसद डा. सुरेन्द्र यादवले जानकारी गराएको पनि पाण्डेले बताएका छन् ।
पाँचतारे मेरियट होटल, नक्सालमा समाजवादी पार्टीका सांसदहरुलाई प्रमको तर्फबाट हिजोबाट खान बस्न सबै व्यवस्था गरिएको र उनीहरुलाई ७०१–७१५ सम्मका कोठामा राखिएको पनि उनले बताए ।
त्यहाँ राखिएकाहरुलाई केहीलाई डर र केहीलाई आर्थिक लगायत प्रलोभन देखाएर राखिएको र यस कार्यका लागि पूर्व आइजिपी सर्वेन्द्र खनाल, महेश बस्नेत र व्यापारी किसान श्रेष्ठ संलग्न रहेको आरोप पनि पाण्डेको छ ।
तीनै जनाले काठमाडौंबाट प्रमको निर्देशनमा सुरेन्द्र यादवलाई मन्त्री बनाउने हो हिंड्नुस भन्दै सरकारी गाडीमा राखेर काठमाडौ ल्याइएको र प्रधानमन्त्रीसँग फोनमा कुरा गराइएको जानकारी पाण्डेले दिए ।
प्रतिक्रिया दिनुहोस्