६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


महिला क्रिकेट टोलीको बिदाई


143
Shares

काठमाडौं । मलेसियामा आयोजना हुने एसीसी महिला टी–२० च्याम्पियनसिपमा सहभागि हुने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई मंगलबार बिदाई गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार एक कार्यक्रमको आयोजना गरेर टी–२० च्याम्पियनसिपमा सहभागि हुन भोलि मलेसिया प्रस्थान गर्न लागेको टोलीलाई बिदाई गरेको हो । टोलीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ र क्यानका पदाधिकारीले बिदाई गरे । बिदाइपछि नेपाली टोलीकी कप्तान रुबिना क्षेत्रीले एशिया कपमा छनोट भएर फर्किने बताइन । अन्तर्राष्ट्रिय सहभागितामा खासै उपलब्धि हात पार्न नसकेको भन्दै कप्तान रुबिनाले महिला टोलीले यो संस्करणमा इतिहास रचेर स्वदेश फर्किने दाबी गरिन ।

एशिया कप छनोट हुने लक्ष्यका साथ नेपाली टोलीले कीर्तिपुर स्थित त्रिभूवन अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा महिना दिन यता अभ्यास गरेको थियो । युगाण्डासँगको श्रृंखलापछि भएका कमी कमजोरीलाई सुधार गर्दै नेपाली टोलीले अभ्यासलाई निरन्तरता दिएको थियो ।

च्याम्पियनसिप मलेसियामा जुन १७ गतेदेखि २५ जुनसम्म हुँदैछ । प्रतियोगिताको फाइनल पुग्ने दुई टिम एशिया कपका लागि छनोट हुनेछन् । मुख्य प्रशिक्षक जगत टमाटाले टोलीको लक्ष्य च्याम्पियन भएर स्वदेश फर्किने रहेको बताए ।

राखेप सदस्यसचिव टंकलाल घिसिङले नेपालले राम्रो खेल पस्किनेमा विश्वस्त रहेको बताए । नेपाली टिमले जुन १७ मा भुटान, १८ मा कुवेत, २० जुनमा बहराइन र हङकङसँग खेल्ने तालिका रहेको छ ।