५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


बर्षा हुने विश्वासले ३५५ वर्ष पुरानो स्वर्ण सिंहासन प्रदर्शन


3.432k
Shares

काठमाडौं । ज्याःपुन्ही सबैभन्दा लामो दिनको रुपमा लिईन्छ । कृषिप्रधान देश नेपालमा यो पर्वको महत्वपूर्ण स्थान छ । आजैबाट मेघगर्जनसहित पानी पर्ने भएकोले यस दिनलाई कृषि कर्मको शुरुवातको रुपमा लिइन्छ ।

तत्कालिन पाटनका राजा श्रीनिवास मल्लको ३ सय ५५ वर्ष पुरानो स्वर्ण सिंहासनको मंगलबार ललितपुरमा प्रदर्शन गरिएको छ । कृष्णमन्दिरको प्रांगणमा नागसहितको सिंहासन प्रदर्शन गरिएको हो ।

पाटन ओकुवहाल बस्ने जोधाजु शाक्यले वि.स. १७२४ शुक्ल अष्टमी वृहस्पतिका दिन सम्यक महादान गरी राजा श्रीनिवास मल्ललाई यो सिंहासन चढाउनु भएको अभिलेखमा उल्लेख छ । वर्षभरिकै सबैभन्दा लामो दिन मानिने जेष्ठ पूर्णिमाको दिन यसरी सिंहासन सर्वसाधारणका लागि प्रदर्शन गर्दा वर्षा हुने जनविश्वास रहेको छ । सोही अवसरमा सिद्धिनरसिंह मल्ल र भगवान कृष्णसँग सम्बन्धित ३ सय ८६ वर्ष पुरानो पौभा चित्र प्रदर्शन गरिएको थियो ।

४ सय २ वर्ष अघि राजा सिद्धिनरसिंह मल्लले रचेका ३२ रागको परम्परागत शास्त्रीय संगीत कात्ति दवुमा प्रस्तुत गरिएको थियो । मेघ मल्हार रागमा आधारित श्याम धनी गीत ज्याः पुन्हीको दिन मात्र गाउने गरिन्छ । मेघगर्जनसहित वर्ष होस भनेर मेघ मल्हार दाफा गाउने गरिन्छ । केशवनारायण मन्दिरको पुजारी माधवश्याम राजोपाध्यायका अनुसार यो पर्व कृषि पेशासँग सम्बन्ध छ । उहाँले पानीको प्रतिकको रुपमा नाग सहितको सुनको सिंहासन प्रदर्शन र मेघ मल्हार दाफा गाउने परम्परा रहेको बताउनुहुन्छ ।

मौलिक परम्परालाई सरकारबाट पनि प्रवद्र्धन गर्नुपर्ने बुद्धिजीवी हरिनारायाण मल्ल बताउनुहुन्छ ।

अहिले आर्थिक र विभिन्न कारण यो परम्परामा केही कमी आएको छ । तर पनि यस्तो मौलिक परम्परालाई समय अनुकुल जर्गेना गर्नु सबैको कर्तव्य हो ।