
काठमाडौं । पाकिस्तान सरकारले देश आर्थिक संकटतर्फ गइरहेको भन्दै सर्वसाधारणलाई मितव्ययी बन्न आग्रह गरेकाे छ ।
विदेशी मुद्राको सञ्चिति दुई महिनाको आयात पनि नधान्ने अवस्था आएपछि सर्वसाधारणलाई यस्तो आग्रह गरिएको हो । चिया विदेशबाट आयात गर्नुपर्ने भएकाले पाकिस्तान सरकारले ऋण काढेर चिया आयात गर्न नसकिने भन्दै चिया पिउने मात्रा घटाउन भनेको हो ।
त्यहाँका एक वरिष्ठ मन्त्री असान इकबालले सर्वसाधारणलाई दैनिक खाने चियाको मात्रा घटाएर एक वा दुई कपमा झार्न आग्रह गरेका छन् । पाकिस्तानले गत वर्ष ६० करोड डलर बराबरको चिया आयात गरेको तथ्यांक देखाउँदै उनले यस्तो आग्रह गरेको पाकिस्तानी संचारमाध्यमहरूले जनाएका छन् ।
चिया पिउने मात्रा घटाउन गरिएको आग्रह सामाजिक सञ्जालमा भने भाइरल बनेको छ । त्यसो त संकट बढ्दै गएपछि पाकिस्तानमा बिजुली बचाउन भन्दै पसल तथा व्यापारिक प्रतिष्ठानहरू समेत रात नपरी बन्द गर्न थालिएको छ ।
गत फागुनमा १६ अर्ब रहेको पाकिस्तानको विदेशी मुद्राको सञ्चिति यहि जुन पहिलो साता ८ अर्ब डलरमा झरेको छ ।
प्रतिक्रिया दिनुहोस्