
इलाम । गणित विषयलाई जटिल ठान्नु नीति-निर्माता, शिक्षक, विषयविज्ञ र पाठ्यक्रम निर्माताकै कमजोरी भएकाे देखिएकाे छ ।
घरायसी व्यवहारदेखि जीवनका प्रत्येक पलमा प्रयोगमा आउने विषयकाे रुपमा गणित विषयलाई लिने गरिन्छ । खोज अनुसन्धानदेखि विज्ञान, ज्योतिषलगायत क्षेत्रमा पनि गणितको महत्व उत्तिकै हुन्छ । गणित विषयमा स्नातक गर्नेहरू विरलै बेरोजगार हुन्छन् । तर, पछिल्लो समय गणितको अध्ययन गर्नेहरू घट्दै गएको र यसलाई गलत व्याख्या समेत गरिएको भन्दै इलाममा सरोकारवालाहरू चिन्तित भएका छन् ।
गणित विषयको ‘हाउगुजी’ समाधान गर्ने उद्देश्यले नेपाल गणित समाजले कार्यशाला र सम्मेलन नै आयोजना गरेर भ्रम चिर्ने प्रयास गरेको छ । गणित विषयको पठनपाठन प्रभावकारी बनाउन अनुसन्धानात्मक विचार, विमर्श र बहस आवश्यक भएको भन्दै इलाममा जारी सम्मेलनमा डेढ सय भन्दा बढी गणित विज्ञ जम्मा भएका छन् ।

गणितलाई जटिल विषयका रूपमा लिनुमा नीति-निर्माता, शिक्षक, विषयविज्ञ र पाठ्यक्र निर्माताकै कमजोरी रहेको सहभागिको धारणा छ । गणित संसारभर एउटै विज्ञानमा आधारित हुने भएकाले यो विषय गाह्रो नभएको तर पढाउने, सिकाउने, पाठ्यक्रम बनाउने लगायत काममा अनुसन्धान नहुँदा जटिल लाग्ने सरोकारवाला बताउँछन् । यस्तै भ्रमले भविष्यमा गणित पढ्ने विद्यार्थी नहुने हो कि भन्ने चिन्ता रहेको अमेरिकाको जोर्जिया राज्यस्थित मर्सल युनिभर्सिटीका सह-प्राध्यापक केदार नेपाल बताउनुहुन्छ ।
गणित विषय सम्बन्धी हुने कार्यशाला र सम्मेलन सिकाई प्रक्रियामा सहजता थपेको शिक्षकहरू बताउँछन् । जेठ १४ देखि १८ गतेसम्म गणित विषयको अनलाइन गोष्ठि तथा ३ दिनसम्म प्रत्यक्ष रुपमा इलाममा कक्षा ११ र १२ को गणित विषयको क्षमता अभिवृद्धिका लागि कार्यशाला आयोजना गरिएको थियो ।
विद्यालय तहमा घट्दै गएको गणित विषयका विद्यार्थीको संख्या बढाउन तथा गणित विषयमा बढी विद्यार्थी अनुत्तीर्ण हुनेगरेको अवस्था सुधार्नका लागि सम्बन्धित सबै पक्ष जिम्मेवार बन्नु पर्दछ ।
प्रतिक्रिया दिनुहोस्