
काठमाडौं । नेपालमा हुनसक्ने विमान दुर्घटनामा उद्धार कार्र्य चुस्त र दुरुस्त बनाउने उद्देश्यले उद्धारमा जुट्ने सुरक्षाकर्मीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नमुना अभ्यास गराइएको छ ।
विमानस्थल र नागरिक उड्डयन प्राधिकरणले हवाइ दूर्घटना र आपतकालिन अवस्थाको प्रतिकार्यका लागि जतिसक्दो छिटो उद्धार गर्न लागि नमुना अभ्यास गरेको हो । अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत दमकल, एम्बुलेन्स र चिकित्सा टीमको सहभागिता थियो ।
अभ्यासका क्रममा कुनै काल्पनिक जिल्लाबाट उडेको १ सय ३० यात्रु सहित उडेको विमानमा इन्जिन खराब भई दुर्घटनाग्रस्त भएको क्षणको उद्धार कार्यलाई देखाइएको थियो ।
त्यहाँ, अन्तराष्ट्रिय विमानस्थलको रेस्क्यु कोर्डिनेशन सेन्टरले विमान हराएको सूचना प्राप्त गरेपछि दुर्घटनास्थलको सम्बन्धित क्षेत्र अनुमान गरी सो क्षेत्रका जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई सूचना प्रवाह गरेको थियो । विमान दुर्घटनास्थल पहिचान गरी उद्धार टोली परिचालन गरिएको थियो ।
त्यस्तै दुर्घटनामा ज्यान गुमाएकाहरूको शव संकलन गर्ने र घाइतहरूको उद्धार अभ्यास गरिएको थियो । घाइतेहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी नजिकको अस्पताल पुर्याइएको थियो ।
अन्तर्राष्ट्रिय अभ्यास अन्तर्गत नेपालले हरेक दुई वर्षमा यस प्रकारको नमुना अभ्यास गर्ने गरिएको र यसले उद्धार टोलीलाई कुनै दुर्घटना हुने बितिकै उद्धारमा सहज हुने र क्षति कम गर्न सहयोग पुग्ने विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरको विश्वास छ ।
नमुना अभ्यासलाई स्थानीयले भने फरक तरिकाले पनि बुझेको पाइयो । कुनै दुर्घटना बाजा बजाएर आउँदैन । त्यसैले सम्भावित दूर्घटनापछि तत्काल उद्धारका लागि चुस्त बल तयार पार्नु आफैंमा स्वागतयोग्य कदम हो ।
प्रतिक्रिया दिनुहोस्