२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


प्रदेश र संघको निर्वाचनका लागि पूर्व मतदानको व्यवस्था मिलाउन निर्वाचन पर्यवेक्षण समितिको आग्रह


195
Shares

काठमाडौं । निर्वाचन पर्यवेक्षण समिति नेपालले निर्वाचन आयोगले आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि पूर्व मतदानको व्यवस्था मिलाउन आग्रह गरेको छ ।

बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पर्यवेक्षण समिति नेपालले हालै सम्पन्न स्थानीय तह निर्वाचनको पर्यवेक्षणबारे जानकारी गराउँदै आयोगलाई आगामी प्रदेश र प्रतिनिधि सभाको चुनावका लागि पूर्व मतदानको व्यवस्था मिलाउन आग्रह गरेको हो ।

पत्रकार सम्मेलनमा समितिका अध्यक्ष प्रदीप पोखरेलले कारणवश मतदानको दिन उपस्थित हुननसक्ने र मतदानअघि विदेश जाने, वृद्ध, अपाङ्गहरुको सुविधाको लागि अर्ली भोटिङ सिस्टमको व्यवस्था मिलाउन अत्यावश्यक रहेको बताउनुभयो ।

समितिले मतपत्रमा प्रतिष्पर्धी उम्मेदवारको मात्र चिन्ह रहने गरी सम्बन्धित प्रदेशस्थित आयोगको कार्यालयमै मतपत्र छाप्ने व्यवस्था मिलाउनुपर्ने, राष्ट्रिय झण्डाको प्रयोग सम्बन्धमा निर्वाचन आयोगले तत्काल आवश्यक नीति निर्माण गर्नुपर्ने, सामाजिक सञ्जालको प्रयोगमा भएको छाडापन, प्रचारबाजीलाई नियन्त्रण तथा दण्ड व्यवस्थापनमा प्रभावकारी बनाइनुपर्ने सुझाव समितिले दिएको छ ।

त्यसैगरी घरदैलो कार्यक्रममा सिमित व्यक्तिलाई मात्र जान दिने सर्वोच्च अदालतलेसमेत निर्देशनात्मक आदेश गरिसकेको अवस्थामा नो भोटलाई मतपत्रमा समावेश गर्न आवश्यक पहल गर्नुपर्ने, म्यादी प्रहरीको स्थानमा छोटो समयको लागि सुरक्षा स्वयं सेवकको व्यवस्था गर्न उचित हुने पनि पर्यवेक्षणबाट प्राप्त भएको अध्यक्ष पोखरेलले बताउनुभयो ।

कार्यक्रममा नेपाल कानून समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानले नयाँ व्यक्ति, वर्ग र अनुहारलाई स्थान दिनेगरी व्यवस्था गर्नुपर्ने बताउनुभयो ।