
कैलाली । सुदूरपश्चिम सरकारले अगामी आर्थिक वर्ष २०७९/०८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार बजेट विनियोजन गरेको छ ।
सुदूरपश्चिम प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला मन्त्री प्रकाश रावलले सो बजेट विनियोजन गरिएको जानकारी गराउनुभयो । जसमा चालुतर्फ १२ अर्ब २९ करोड ५९ लाख ८४ हजार अर्थात ३३ दशमलव ४६ प्रतिशत र पुँजीगततर्फ २४ अर्ब १४ करोड ४७ लाख ६१ हजार अर्थात ६५ दशमलव ७४ प्रतिशत बजेट विनियोजन गरिएको छ ।
त्यस्तै अन्तर सरकार वित्तिय हस्तान्तरण तर्फ १ अर्ब ३६ करोड ४९ लाख अर्थात ३ दशमलव ७३ प्रतिशत बजेट विनियोजन गरिएको मन्त्री रावलले बताउनुभयो ।
सुदूरपश्चिम प्रदेश सरकारले सडक, शिक्षा, स्वास्थ्य र खानेपानी लाई मुख्य प्राथमिकतामा राखेर बजेट ल्याएको छ । सुदूरपश्चिम प्रदेश सरकारले सडक पूर्वाधारमा ५ अर्ब बढी बजेट विनियोजन गरेको छ ।
सडक पूर्वाधारका लागि मात्रै ५ अर्ब ६० करोड ११ लाख बजेट विनियोजन गरिएको छ । खानेपानी संरचना निर्माण तथा पुननिर्माणमा १ अर्ब ६७ करोड, रासायनिक मल खरिद गर्न १ करोड बजेट विनियोजन गरिएको छ भने स्वास्थ्य क्षेत्रका लागि एक अर्ब ६ करोड बढी बजेट विनियोजन गरिएको छ ।
आगामी आर्थिक वर्षका लागि स्वास्थ्य सेवा सुधारका लागि १ अर्ब ६ करोड २६ लाख बजेट विनियोजन गरिएको हो । स्वास्थ्य क्षेत्रतर्फ प्रदेशमा रहेका प्रादेशिक र जिल्ला अस्पतालमा सेवा विस्तारको योजना अटाएका छन् ।
सुदूरपश्चिम प्रदेश सरकारले शिक्षा क्षेत्रका लागि एक अर्ब २३ करोड ७३ लाख बजेट विनियोजन गरेको छ । शिक्षाको गुणस्तर सुधार, आधुनिक पूर्वाधार निर्माण र शैक्षिक जनशक्तिको क्षमता सुधारका लागि प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रमअन्तर्गत उक्त बजेट विनियोजन भएको हो ।
सुदूरपश्चिम प्रदेश सरकारले गत वर्ष बाढी पहिरोबाट प्रभावित क्षेत्रका लागि विशेष बजेट विनियोजन गरेको छ । गत वर्ष वर्षाले विभिन्न संरचनमा क्षति पुगाएको भन्दै ती संरचनाको एकीकृत पूर्वाधार निमार्ण एवम् पुनः स्थापना गरि पीडितहरूको संरक्षण र सम्भावित जोखिम न्यूनिकरणका गर्न ६९ लाख विनियोजन गरिएको उहाँले बताउनुभयो ।
पर्यटकीय क्षेत्र खप्तड लगायतका क्षेत्रको विकास तथा प्रवर्द्धनका लागि ३ करोड बजेट विनियोजन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्