२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


जेठसम्म ३५ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी परराष्ट्रमन्त्री खड्काको प्रतिवद्धता


143
Shares

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ३५ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी प्रतिवद्धता भएको बताउनुभएको छ ।

बुधबार प्रतिनिधिसभामा जारी विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको तर्फबाट जवाफ दिँदै परराष्ट्र मन्त्री खड्काले वैदेशिक लगानी तथा नियमावली नीति तथा संरचनामा सुधारको कारण ३५ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी प्रतिवद्धता भएको बताउनुभएको हो ।

उहाँले सरकारले प्रविधि हस्तान्तरणलाई टेवा पुर्‍याउन नयाँ विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन तथा नियामावली कार्यान्वयन, लगानी प्रशासनलाई सहज बनाउन उद्योग विभागमा एकल बिन्दु सेवा केन्द्र स्थापना र लगानीको थ्रेस होल्ड पुनरावलोकन अन्तिम चरणमा पुगेको कारण विदेशी लगानी प्रतिवद्धतामा आकर्षण बढ्दै गएको बताउनुभयो ।

मन्त्री खड्काले औधोगिक विकासलाई टेवा पुर्‍याउन औधोगिक व्यवसाय ऐन, २०७६, नियमावली २०७८, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ र नियामावली २०७७ सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन २०७५, तर्जुमा गरी आर्थिक ऐन तथा मौद्रिक नीति मार्फत सहजिकरण गर्ने सरकारको तयारी रहेको बताउनुभयो । उहाँले नेपालका ९२ स्थानमा रहेका खानीहरु सञ्चालन गरी ढुङ्गा, गिट्टी, वालुवालगायतका निर्माण सामाग्री ढुवानी गर्ने प्रक्रिया अगाडि बढाइएको समेत जानकारी दिनुभयो ।

मन्त्री खड्काले उद्योग प्रतिष्ठानका जग्गा बिक्री गर्ने गरी तत्काल कुनै पनि संस्थानलाई निजिकरण प्रक्रिया अगाडि नबढाएको बताउनुभयो । उहाँले स्वदेशी उद्योग र उत्पादनलाई प्रवद्र्धन गर्ने निजिकरण प्रक्रियामा गएको हेटौडा कपडा उद्योग र बन्द रहेका सार्वजनिक क्षेत्रका उद्योगहरु सम्भाव्यताका आधारमा पुनः सञ्चालन गर्ने सरकारले तयारी गरेको बताउनुभयो ।

मन्त्री खड्काले निजिकरण भइसकेका सार्वजनिक संस्थानको सम्पत्तिको अभिलेखन गर्ने कार्य सरकारले अगाडि बढाएको बताउनुभयो ।