२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


शेयरमा संकट, ‌निरन्तरकाे ओरालाे यात्राले १५ खर्ब नाेक्सानी


2.158k
Shares

काठमाडौं । नेपाली स्टक बजारले अर्थतन्त्रको गतिलाई प्रतिविम्बित गर्नेमा दुईमत छैन । अर्थतन्त्रको मानकका रूपमा लिइने शेयर बजारको अहिलेको अवस्था भने अन्योलमै रहेको छ ।

केही समयदेखि निरन्तर उछाल आएको नेप्से परिसूचक हाल दिनहुँजसो ओरालो लाग्ने क्रम जारी छ । शेयर बजार घट्नुको अनेकौं कारणका बाबजुद नीति निर्माता नेपाल राष्ट्र बैंकको विश्लेषणमा अहिलेको शेयर बजारको घटाई स्वाभाविक मान्न सकिन्छ ।

पूँजीबजार अर्थतन्त्रको साधन परिचालनको महत्वपूर्ण माध्यम हो । यसको विकासले परियोजना, विकास निर्माणको लागि साधन जुटाउन सकिने भएकाले वास्तविक क्षेत्रमा योगदान पुर्‍याउँछ ।

औद्योगिक, पर्यटन, कृषिको आधुनिकीकरण लगायत आर्थिक वृद्धि तथा समष्टिगत आर्थिक विकास प्रतिबिम्वित गर्ने भएकाले विश्वबजारमा यसको प्रयोग बढ्दो छ । तर, पछिल्लो समय नियमनकारी निकायले शेयर बजार विकासका लागि गरिनुपर्ने कार्य नगरेको आरोप लगानीकर्ताले लगाएका छन् ।

हाल अर्थतन्त्रका आर्थिक सूचकहरू खस्कँदो अवस्थामा छ । विदेशी विनिमय सञ्चिती घट्दो क्रममा रहेको छ भने शोधनान्तर घाटा र मुद्रास्फ्रिती बढ्दो क्रममा छ । अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्यवृद्धिको असर नेपाली बजारमा परेको छ । अहिलेको चुनौती समष्टिगत आर्थिक स्थायित्व कायम गर्नेतर्फ केन्द्रित रहेको राष्ट्र बैंकको भनाइ छ ।

शेयर बजार आफैंमा जोखिमयुक्त प्रकृतिको हुने भएकाले त्यस्तो जोखिम कम गर्न वा आफ्नो लगानी प्रतिफल निश्चित भएका कम्पनीमा लगानी गर्नुपर्छ । पोर्टफोलियो निर्माणको बलियो आधार वास्तविक क्षेत्र भएकाले यस्ता क्षेत्रमा गरिने लगानीले लगानीकर्ताको जोखिम घटाउने गर्छ ।

हाल ५२ लाख लगानीकर्ता आवद्ध रहेपनि १५ लाख बढी सक्रिय लगानीकर्ता रहेका छन् भने ३२ सयमाथिको हाराहारीमा पुगेको नेप्से परिसुचक १९ सयमा आएको छ ।

यो बीचमा ४४ खर्बको बजार पूँजीकरण २९ खर्बमा झरेको छ । यो अवधिमा लगानीकर्ताको मात्रै १५ खर्ब नोक्सान बेहोरेका छन् । शेयर कारोवार संख्या र शेयर बजारमा जनताको सहभागिता बढ्दो क्रममा रहँदा नीति नियमको अभावकै कारण शेयर बजार धराशायी बनेको लगानीकर्ताको आरोप छ ।

पछिल्लो समय केन्द्रीय बैंकले शेयरबजारमा कडाई गर्दै ४/१२ को नीति लागू गरेसँगै शेयरबजार घटेको भन्दै १९ बुँदे मागसहित लगानीकर्ता आन्दोलित छन् । पूँजीबजारलाई दिगो बनाउन राष्ट्र बैंक सकारात्मक रहेको भन्दै सम्बन्धित निकायसँग सल्लाह सुझाव लिन सकिने बताउँछ ।

शेयरबजारमा संकट बारम्बार आइरहन्छ । यो प्राकृतिक नियम नै हो । लगानीकर्ताले आफ्नो सम्पत्ति सुरक्षा र पूँजीबजारको विकासका लागि स्वार्थकेन्द्रित आन्दोलन र नियमनकारी निकायले आफू अनुकुल नियम परिमार्जन नगरेको सबैको हितमा हुन्छ ।