१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


अर्थमन्त्री विचौलियाको चंगुलमा परेर राष्ट्रघात गरे : भानुभक्त ढकाल


689
Shares

काठमाडौं । नेकपा(एमाले) का सांसद भानुभक्त ढकालले अर्थमन्त्री जनार्दन शर्मा विचौलियाको चंगुलमा परेर करको दर परिवर्तन गरी राष्ट्रघात गरेको बताउनुभयो ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकको सम्बन्धमा अर्थ मन्त्रालयको जवाफ दिन अर्थमन्त्री शर्मालाई कार्यसूचीमा राखेकोप्रति आपत्ति जनाउँदै सांसद ढकालले शर्मालाई अर्थमन्त्रीको रुपमा स्वीकार गर्न नसकिने बताउनुभएको हो ।

ढकालले अर्थमन्त्री जनार्दन शर्मालाई एमालेले अर्थमन्त्रीको रुपमा स्वीकार नगर्ने बताउनुभएको छ ।

एमालेले अर्थमन्त्रीको राजीनामा मागिरहँदा पनि कार्यसूचीमा अर्थमन्त्रीलाई हालेकोप्रति एमालेको असहमती र बिरोध रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘अर्थमन्त्री विचौलियाको चंगुलमा परेर करका दरहरु परिवर्तन गरेको र राष्ट्रघात गरेकोले राजीनामा दिनुपर्छ भन्ने हाम्रो दलको अडान रहेको व्यहोरा विगतदेखि उठाउँदै आएका छौँ । त्यो विषयलाई बेवास्ता गरेर आजको कार्यसूचीमा पनि फेरि त्यही विषय ल्याइएको हुनाले यो प्रति गम्भीर असहमती र विरोध रहेको । कतै यो विचौलियाहरुको सञ्जाल अर्थमन्त्री मात्रै नभएर अर्थमन्त्री भन्दामाथि पनि जराले घर गरेको छ कि भन्ने ठाउँमा हामी पुगेका छौँ । जेठ १४ गते बेलुकी ७ बजेदेखि जेठ १५ गते बिहान ८ बजेसम्मको सिसिटीभि फुटेज हेरेर अपराधीहरुलाई कानूनको कठघरमा आउनका निम्ति संसदीय छानबिन समिति माग गरेको छौँ । एमाले संसदीय दलको तर्फबाट अहिलेका वर्तमान अर्थमन्त्रीलाई अर्थमन्त्रीको रुपमा स्वीकार गरेर न यो संसद न सरकार न वाह्य गतिविधिमा पनि दलको समर्थन नहुने व्यहोरा जानकारी गराउन चाहान्छु ।’

सांसद ढकालले अर्थमन्त्रीलाई जिम्मेवारीबाट नहटाएकाले विचौलियाहरुको सञ्जाल अर्थमन्त्री भन्दा माथि पनि छ कि भन्ने आशंका उब्जाएको बताउनुभयो । उहाँले जेठ १४ गते बेलुकी ७ बजेदेखि जेठ १५ गते बिहान ८ बजेसम्मको सिसिटीभि फुटेज हेरेर दोषीलाई कानूनको कठघरमा ल्याउनुपर्ने र त्यसको छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने बताउनुभयो ।