२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


मेलम्चीका बाढीपीडित अस्थायी टहरामै, ५ लाख दिने घोषणा अझै कार्यान्वयन भएन


429
Shares

सिन्धुपाल्चोक । मेलम्चीमा बाढी आएको एक वर्ष पुगेको छ । गतवर्ष असार १ गतेको आएको बाढीले २६ जनाको मृत्यु हुनाका साथै धेरै भौतिक सम्पत्तिको क्षति भयो ।

गतवर्ष असार १ र साउन १६ गते सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा बाढी आएको थियो । नदीको तटीय क्षेत्रको खेतीयोग्य जमिन बगरमा परिणत भएको थियो । बाढीबाट विस्थापित भएकाहरू अझै पनि अस्थायी टहरामै बस्दै आएका छन् ।

गत वर्ष हेलम्बु, मेलम्ची र पाँचपोखरीमा बाढीले ५ सय ५१ घर बगाएको थियो । पाँच हजार ४ सय रोपनी खेतीयोग्य जमिन बगर बन्यो । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनासँगै सात झोलुङ्गे पुल, नौ पक्की पुल र ३३ सार्वजनिक संरचना ध्वस्त भए ।

हालसम्म अस्थायी टहरामुनि बस्दै आएका बाढीपीडित सरकारको बाटो हेरेर बसिरहेका छन् । अघिल्लो वर्ष पनि आफ्नै बलबुतामा उठाएको बजारलाई यो वर्ष पनि आफ्नै पहलमा बजार जोगाउन लागिपरेको मेलम्ची बचाउ अभियानका अभियन्ता सागर श्रेष्ठ बताउनुहुन्छ ।

प्राकृतिक विपद्का हिसाबले सिन्धुपाल्चोक देशकै उच्च जोखिममा रहेको जिल्ला हो । गतवर्ष केही तयारी गरे पनि पर्याप्त नभएको स्थानीयले बताएका छन् । सिन्धुपाल्चोकलाई सरकारले गत वर्ष सङ्कटग्रस्त जिल्लासमेत घोषणा गरेको थियो ।

बस्ती संरक्षण, स्थानान्तरण र पुनःनिर्माणका कुरा उठे पनि अहिलेसम्म काम भने हुन सकेको छैन । तर पनि आफैं लागेर बस्तीलाई केही हदसम्म जोगाउने प्रयास गरिरहको मेलम्चीका स्थानीय प्रेम श्रेष्ठले बताउनुभयो ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले घरबारविहीनलाई पाँच लाख रुपैयाँका दरले रकम उपलब्ध गराउने घोषणा गरेको थियो । उक्त निर्णय हालसम्म पनि कार्यान्वयन नहुँदा बाढी प्रभावितको बिचल्ली भएको छ ।

खोलाको अतिक्रमण गरी घरलगायत संरचना निर्माण गर्दा पनि अत्यधिक क्षति भएको हो । मेलम्ची, इन्द्रावती र पाँचपोखरी जानका लागि ह्युमपाइप हालेर बनाइएको अस्थायी पुल पनि केही दिनअघि आएको बाढीले बगाएपछि समस्या थपिएको छ ।

हेलम्बु–७ चनौटेमा नेपाली सेनाको सहयोगमा बेलीब्रिज निर्माणबाट आवतजावतमा सहज भएको छ । तर यसवर्ष सरकारले विशेष योजना ल्याउन नसकेकोमा स्थानीय निराश छन् । दीर्घकालीन समाधान नै आजको आवश्यकता भएको स्थानीय चन्द्र बहादुर तामाङको भनाइ छ ।

सरकारले गरेको विपद् पुर्वतयारी हेर्ने हो भने फेरी संकट आएमा बाढी प्रभावितहरू अघिल्लो वर्षझै पीडा भोग्न बाध्य हुनेछन् । तसर्थ यथाशीघ्र विपद् पुर्वतयारी तथा प्रतिकार्य योजना बनाउन जरुरी छ ।