१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


विनियोजन विधेयक पारित


156
Shares

काठमाडौं । आगामी आर्थिक वर्षको बजेटको विनियोजन विधेयक पारित भएको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकले विनियोजन विधेयक, २०७९ लाई पारित गरेको हो । अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको ‘विनियोजन विधेयक, २०७९’ लाई पारित गरियोस् भन्ने प्रस्तावलाई प्रतिनिधिसभाको बैठकको बहुमतले पारित गरेको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माण गर्ने क्रममा अनधिकृत व्यक्तिलाई सहभागी गराएको आरोप लगाउँदै बैठक बहिष्कार गरेको थियो । एमाले सांसदहरुले बजेट निर्माण गर्दा अनधिकृत व्यक्ति सहभागी भएको भन्दै छानबिन गर्न माग गरेका छन् । विनियोजन विधेयकलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो ।

अब बजेटका तीन आश्रित विधेयक पारित हुन बाँकी छ । सरकारले गत जेठ १५ गते आगामी आर्थिक वर्षका लागि संघीय संसदमा १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट प्रस्तुत गरेको थियो । यसमध्ये चालु खर्च तर्फ ७ खर्ब ५३ अर्ब ४० करोड पूँजीगतखर्च तर्फ ३ खर्ब ८० अर्ब ३८ बजेट विनियोजन गरिएको छ ।

बजेटको परिचालबाट ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गरेर मूल्य वृद्धिलाई ७ प्रतिशतमा सीमित गर्ने सरकारी लक्ष्य रहेको छ ।