२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


खेवाङ पहिरोका घाइतेलाई हेलिकाेप्टर मार्फत विराटनगर लगियो


1.391k
Shares

ताप्लेजुङ । बिहिबार रातिको पहिरोमा परि गम्भिर घाइते भएका ताप्लेजुङको सिरिजंघा गाँउपालिका-७ खेवाङका विष्णु अधिकारीलाई उपचारका लागि विराटनगर लगिएको छ ।

अहिले बिहान नेपाली सेनाको हेलिकाेप्टर मार्फत विराटनगरको कोशी अस्पतालमा उपचारका लागि लगिएको प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलले जानकारी दिनुभयो । पेट, अनुहार र टाउकोमा चोट लागेर गम्भिर घाइते भएका अधिकारीलाई उद्धार गर्न जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम प्रमुख जिल्ला अधिकारी पोखरेलको आग्रहमा नेपाली सेनाको हेलिकाेप्टर घटनास्थल पुगेको थियो ।

घटनास्थलबाट मृतकहरुको शव समेत निकालिएको छ । उक्त हेलिकाेप्टर मार्फत नै पोष्टमार्टमका लागि सदरमुकाम फुङलिङमा पुर्याईएको हो । घाइते अधिकारीकी आमा तुलसा अधिकारी र श्रीमती यशाेदा अधिकारीको भने घटनास्थलमा नै मृत्यु भएको हाे । रातको समयमा घरमाथिबाट झरेको पहिरोसँगै उछिट्टिएर सडकमा निस्किएका अधिकारी भागेर ज्यान जोगाउन सफल भएका थिए ।

घरमा ३ जना मात्रै बस्दै आएका थिए । परिवारका अन्य सदस्यहरु भने झापास्थित घरमा बस्दै आएका छन् । यता पहिरोकै कारण यहाँका दर्जनौं घर परिवार जोखिममा परेका छन् । रातभरको वर्षाका कारण कतिपयले छरछिमेकको घरमा रहेर रात कटाएका थिए ।

खेवाङसहित जिल्लाका विभिन्न ठाउँमा झरेको पहिरोले ठूलो क्षति पुगेको र क्षतिको विवरण संकलन भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख तथा डिएसपी कैलाश राईले जानकारी दिनुभयो ।