
काठमाडौं । सरकारले नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षकको बढुवा गर्ने कार्यमा ढिलाइ गर्दा अहिले ५ वटा प्रदेश प्रहरी कार्यालयमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई निमित्त प्रमुखको जिम्मा दिइएको छ ।
केही हप्ताअघि मन्त्रिपरिषद् बैठकले प्रदेश कमाण्ड सम्हालिरहेका ५ जना प्रहरी नायब महानिरीक्षक (डिआईजी)लाई अतिरिक्त प्रहरी नायब महानिरीक्षक (एआईजी)मा बढुवा गरेपछि पद खाली भएको हो ।
डीआइजी पदमा बढुवा हुनेहरू मध्येकै एकजनाले २०७९ चैत १० गते नेपाल प्रहरीको ३०औं प्रहरी महानिरीक्षक बन्ने अवसर प्राप्त गर्नेछन् ।
धेरै जसो विभागमा रहेका प्रहरी नायब महानिरीक्षक (डिआईजी)हरू बढुवा भएको र कतिपय ३० वर्षे सेवाअवधिका कारण अनिवार्य अवकासमा गएपछि खाली रहँदा विभागको कामकाजमा प्रत्यक्ष असर परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरीको बढुवामा राजनीतिक चासो बढेको कारण हस्तक्षेप हुने भएकाले बढुवामा ढिलाइ हुने प्रहरी अधिकारीहरू बताउँछन् । डिआईजी पदका लागि प्रतिस्पर्धी ५४ जना भए पनि ज्येष्ठताका आधारमा २७ जना एसएसपीबाट १७ जना प्रहरी नायब महानिरीक्षक (डिआईजी) पदमा बढुवा सिफारिस हुने प्रहरी प्रवक्ता विष्णु केसी बताउनुहुन्छ ।
सरकारी हस्तक्षेप नभएमा वरिष्ठताको आधारमा २०७५ फागुन ६ गते एसएसपीमा बढुवा भएकाहरू नै बढुवामा सिफारिस हुनेछन् ।
वरिष्ठ प्रहरी उपरीक्षक सन्दीप भण्डारी, टेकप्रसाद राई, उमेश जोशी, श्यामलाल ज्ञवाली, रामदत्त जोशी, दीपक थापा, मीरा चौधरी, बुद्धिराज गुरूङ, किरण बज्राचार्य, पोषराज पोखरेल, टेकबहादुर तामाङ, बसन्त कुँवर र भीमप्रसाद ढकाल बढुवाको प्रबल दावेदार मानिनुहुन्छ ।
यी वरिष्ठ प्रहरी उपरीक्षकहरू २०५१ साल चैतमा प्रहरी निरीक्षकमा भर्ना भएका हुन् । त्यसैगरी प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षकमा बढुवा भएपछि रिक्त हुने ३० प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा ३२ जना प्रहरी उपरीक्षकहरू प्रतिस्पर्धामा छन् ।
प्रहरीमा सरुवा, बढुवाको सन्दर्भ उठ्नासाथ राजनीतिक चलखेलले ठाउँ पाउँछ । यसले प्रहरी संगठनमै तरङ्ग ल्याउने गरेको छ । प्रहरी मुख्यालय भने बढुवाको लागि प्रहरी नियमावली २०७१ मा उल्लेख भएअनुसारका योग्य प्रहरी कर्मचारीहरू सम्भाब्य सूचीमा रहने बताउँछ ।
यसका साथै समान पदमा रहेका कोहि बढुवा हुने कोही नहुने हुँदा बढुवामा नपर्नेहरूले हस्तक्षेप भएको गुनासो गर्ने गरेको प्रहरी प्रवक्ता केसी बताउनुहुन्छ ।
प्रहरी सरुवा बढुवा सामान्य प्रक्रिया हो । तर, यसलाई महाभारत बनाउने राजनीतिक चश्मा परिवर्तन नभएसम्म यो रोग दोहोरिने पक्का छ ।
प्रतिक्रिया दिनुहोस्