
काठमाडौं । बिहीबार केही सुधार देखिएको शेयर बजार परिसूचक नेप्से शुक्रबार फेरि घटेको छ ।
शुक्रबार नेप्से ७ दशमलव ५६ अङ्कले घटेर एक हजार नौ सय ७१ दशमलव ३८ विन्दुमा झरेको छ । शुक्रबार पहिलो पटक दुई घण्टाका लागि शेयर बजार खुलेको हो ।
यसअघि सरकारले आइतबार पनि सार्वजनिक बिदा दिएपछि शेयर बजार पनि आइतबार बन्द गरेर शुक्रबार खोल्न थालेकोमा आइतवारको बिदा कटौती भएपछि शुक्रबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म दुई घण्टाका लागि मात्र शेयर बजार खुलाउन थालिएको हो ।
शुक्रबार म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा बिमा, जलविद्युत् र विकास बैंकको शेयर दोहोरो अङ्कले घटेको छ । शुक्रबार दुई सय २० वटा कम्पनीको २३ लाख ५४ हजार कित्ता शेयर ७३ करोड ६२ लाख रुपैयाँमा कारोबार भएको छ ।
सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको १० करोड १४ लाख रुपैयाँभन्दा धेरैको शेयर कारोबारभयो । समग्र बजार घटे पनि आज आँधीखोला लघुवित्त वित्तीय संस्थाको शेयर १० प्रतिशतले बढेको छ । रिभर फल्स पावर कम्पनीको शेयर भने पाँच प्रतिशतभन्दा धेरैले घट्यो ।
प्रतिक्रिया दिनुहोस्