
सोलुखुम्बु । सोलुखुम्बुको सल्लेरीमा महिलाका लागि एक दिने नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको छ ।
अन्तरपार्टी महिला सञ्जाल सोलुखुम्बुले सोलुदूधकुण्ड नगरपालिका १ र ५ का महिलालाई लक्षित गर्दै सल्लेरीमा यस्ताे तालिमको आयोजना गरेको हो । वडाका महिला तथा जनप्रतिनिधिलाई लक्षित गरेर आयोजना गरिएको तालिममा योजना छुट्याउँदा ध्यान दिनुपर्ने कुराहरु, प्रस्तावना पेश तथा बजेट फर्छ्योट, कानून तथा न्याय र अपराधका विषयमा सहजीकरण गरिएको सञ्जालले जनाएको छ ।
रकम फर्छ्योट तथा प्रस्तावना पेशका विषयमा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामकुमार खड्का, अपराध सम्बन्धी जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक सुनिलजंग शाह र कानून तथा न्यायको सरकारी वकिल मीना गुरुङले सहजीकरण गर्नुभएको हो ।
सोलुदूधकुण्ड नगरपालिकाको आर्थिक सहयोगमा भएको सो कार्यक्रम सञ्जालले सोलुदूधकुण्ड नगरपालिका वडा नम्बर ६, ७ र ११ का लागि गरिसकेको छ भने ८, ९ र १० मा पनि गर्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस्