२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


एसपीपी ओली नेतृत्वको सरकारमा अघि बढेको हो : महामन्त्री शर्मा


338
Shares

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) केपी ओली नेतृत्वको सरकारकै पालामा अघि बढेको पुष्टि भएको दाबी गर्नुभएको छ ।

महामन्त्री शर्माले प्रमुख प्रतिपक्ष दल एमालेले आफ्नो पार्टी काँग्रेसलाई आक्षेप लगाउने ढंगले संसदमा बोले पनि त्यसको २४ घण्टा नबित्दै सो प्रोग्राम ओली नेतृत्वकै सरकारले अघि बढाएको खुल्न आएको बताउनुभएको हो । उहाँले कूटनीतिक मर्यादा विपरित सो प्रोग्राममा सामेल भएर नेपाली सेना पनि विवादमा पहिलो पटक सामेल भएको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नुभयो ।

नेपाल शिक्षक संघ, ललितपुरले शनिबार पाटनढोकामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सो प्रोग्राम राष्ट्रको हितमा नभएकाले अघि नबढाउने कुरा प्रधानमन्त्री शेरबहादुर देउवाले स्पष्ट पारिसकेको उल्लेख गर्दै नेपालले मुलकको हित विपरितका कुनै पनि सन्धि, सम्झौता नगर्ने दोहोर्‍याउनुभयो ।

महामन्त्री शर्माले एसपीपीबारे राष्ट्रिय एकतालाई कमजोर बनाउने गरी अभिव्यक्ति नदिन पनि राजनीतिक दलका नेताहरुको ध्यानाकर्षण गराउनुभयो । कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ललितपुरको शैक्षिक क्षेत्रको विकासका लागि आफूले सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

मेयर महर्जनले अघिल्लो कार्यकालमा आफूले गल्ती नगरेकै कारण यहाँले जनताका आफूलाई पुनः निर्वाचित गरेको उल्लेख गर्दै अव झनै गतिशील भएर काम गर्ने बताउनुभयो ।