
ओखलढुंगा । कुनै बेला यात्रुको थेगिनसक्नुको भीड हुने ओखलढुंगाको रुम्जाटार विमानस्थल अहिले बन्द भएकाे छ ।
सडक सञ्जाल गाउँगाउँमा पुगेर काठमाडौं, विराटनगर लगायतका शहरसम्मको यात्रा सहज भएका कारण यस विमानस्थल बन्द भएको हो । विमानस्थल सञ्चालनमा आउन नसक्दा सर्वसाधारण मारमा परेका छन् । रुम्जाटार विमानस्थल सञ्चालनमा नआउनुको मुख्य कारण यात्रुको विश्वास गुमाउनु पनि हो ।
कुनै बेला काठमाडौं–रुम्जाटार निकै चलन चल्तीको एयरपोर्ट थियो । काठमाडौबाट ओखलढुंगा सदरमुकाम पुग्न र ओखलढुंगाबाट काठमाडौं आउन यहि विमानस्थल भएर ओहोरदोहोर गर्नुपर्ने बाध्यता थियो । तर, बाटोको सञ्जालले ओखलढुंगासम्मको यात्रालाई छिटो र सहज बनाइएपछि अहिले यो निकै चल्तीको एयरपोर्ट चल्नै छाडेको छ । कहिले मौसमको कारण नियमित उडान हुन नसक्ने र डिले जस्ता कारणले पनि यात्रुले हैरानी बेहोर्नु पर्दा ओखलढुंगेलीहरूलाई सडकबाटै यात्रा गर्न सहज भएको हो ।
ओखलढुंगाको रुम्जाटार र चण्डेश्वरीमा रहेका दुई वटा विमानस्थलमा नै नियमित उडान हुन सकेको छैन् । रुम्जाटार विमानस्थलमा बजेट सक्न कालोपत्रे चाहीं गरिएको छ । तर, नियमित उडान चाहिं कटौती गरिएको छ । चण्डेश्वरी विमानस्थलमा पनि परीक्षण उडान भरिएसँगै पुनः जहाज फर्किएको छैन् । सिद्धिचरण नगरपालिका-४ रुम्जाटारमा रहेको यो रुम्जाटार विमानस्थल लामो समयदेखि बन्द छ । सधै यात्रुले खचाखच हुने यो विमानस्थमा यात्रुको खडेरी लाग्न थालेपछि उडान बन्द गरिएको बताएको छ ।
कुनै समय हप्तामा ७ फ्लाइटसम्म उडान भर्ने यो विमानस्थल यसरी सुनसान हुँदा यो रुम्जाटारको रौंनक पनि हराउँदै गएको छ। सडकमार्ग पक्की भएसँगै काठमाडौँ, विराटनगरलगायतका ठाउँमा जान यात्रुलाई सहज हुन थालेपछि सडकले विमानस्थललाई विस्थापित बनाएको हो । यो विमानस्थल अहिले एकजना कार्यालय सहयोगीले मात्र रेखदेख गर्दै आएका छन् ।
रुम्जाटार विमानस्थल सञ्चालनमा नआउनुको मुख्य कारण यात्रुको विश्वास गुमाउनुपनि हो । ओखलढुंगा सदरमुकामबाट करिब ११ किलोमिटर टाढा रहेको यो विमानस्थलमा पुग्नै १ घण्टा लाग्छ । जहाज आउने नआउने टुंगो नहुने र नआउँदा फर्किएर जानुपर्ने बाध्यता यात्रुहरुमा थियो । त्यसैले पनि जहाज पर्खने समय भन्दा पक्की सडकमार्गबाट यात्रुलाई गन्तव्य पुग्न छिटो हुने गरेका कारण पनि यो एयपोर्ट यसरी सुनसान बन्न पुगेको हो ।
खिजिदेम्बा गाउँपालिका-३ मा निर्माण भएको अर्को चण्डेश्वरी विमानस्थलको हबिगत पनि रुम्जाटार विमानस्थलको जस्तै छ । यो विमानस्थल निर्माण सम्पन्न भएर नियमित सञ्चालनमा नआउँदा विमानस्थलको धावनमार्गमा यसरी रुख र बुट्यान हुर्कन थालेका छन् । जिल्लाको पश्चिमी क्षेत्रलाई लक्षित गरेर निर्माण भएको विमानस्थलमा २०७६ साल पुसमा परीक्षण उडान भरिएको थियो । परीक्षण उडान सफल भए पनि त्यसयता एकपटक पनि यहाँको विमानस्थलमा उडान भरिएको छैन्।
जिल्लामा रहेका यी दुवै विमानस्थल सञ्चालनका लागि नागरिक स्तरबाट बारम्बार आवाज उठ्दै आए पनि अझै सञ्चालनमा आउन सकेको छैन् । विमानस्थल सञ्चालनमा नआउँदा सरकारको करोडौँ रुपैयाँ बालुवामा पानी खनाए झै भएको छ । यहाँका दुवै विमानस्थलमा उडान नहुँदा आकस्मिक बिरामीहरुलाई जिल्ला बाहिर लैजान लाखौँ रुपैयाँ खर्च गरेर हेलिकोप्टर मार्फत बिरामी लैजानुपर्ने बाध्यता छ ।
हेलिकाेप्टरमा भाडा महँगो पर्ने भएकाले पटकपटक सम्बन्धित निकायको ध्यानाकर्षण गराएपनि यी दुवै विमानस्थल सञ्चालनमा आउन नसक्दा सर्वसाधारण मारमा पर्ने गरेका छन् । त्यसैले बन्द रहेका यी दुवै विमानस्थल जनताको मन जित्दै जति सक्दो चाँडो सञ्चालनमा ल्याउनुपर्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्