
सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु क्षेत्रमा हिमाली ब्वाँसोको आतंक बढ्दै गएको छ ।
केही वर्षयता सो क्षेत्रको घरपालुवा जनावरहरूमा हिमाली ब्वाँसोको आक्रमण अत्याधिक बढेको तथ्यांकले पुष्टि गरेको छ ।सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेको तथ्याङ्कअनुसार सन् २०२० को मध्यदेखि सन् २०२१ को मध्यसम्ममा सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा जङ्गली जनावरबाट ३ सय २३ वटा भन्दा बढी घरपालुवा जनावर मारिएका छन् ।
जसका लागि निकुञ्जले ९० लाख रूपैयाँ भन्दा बढी क्षतिपूर्ति पशुपालक कृषकलाई प्रदान गरेको छ । नेपालमा सबै भन्दा कम अध्ययन गरिएको जङ्गली जनावरमा पर्ने हिमाली ब्वाँसोले घरपालुवा जनावरको सुरक्षामा निकै ठूलो समस्या सिर्जना गरिरहेको स्थानीयले बताएका छन् ।
वार्षिक प्रतिवेदनअनुसार मारिएका ३ सय २३ घरपालुवा जनावरमध्ये २ सय ३४ ब्वाँसाले मारेको निकुञ्जका सूचना अधिकारी विष्णु रोकायाले बताउनुभयो । सन् २०१३ मा नेपाल सरकारले ८ प्रकारका वन्यजन्तु हात्ती, गैंडा, भालु, बाघ, चितुवा, हिमचितुवा, बँदेल र अर्नाका कारण घरपालुवा वस्तुभाउलाई क्षति वा घाइते गराएमा क्षतिपूर्ति दिने पहिलो निर्देशिका लागू गरेको थियो ।
सन् २०१५ मा सरकारले त्यो सूचीमा हिमाली ब्वाँसो, ध्वाँसे चितुवा र जङ्गली कुकुर थप गरेको थियो । हाल निकुञ्जले एउटा वन्यजन्तु ब्वाँसोले मारे बापत ३० हजार रूपैयाँ क्षतिपूर्ति दिने गरेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्